नेपाल

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवागढी हाइड्रोपावरका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाका अनुसार खोलाको बहाव निरन्तर अनुगमन भइरहेको छ । अवस्था सुरक्षित देखिएमा आजैदेखि विद्युत् उत्पादन पुनः सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।

रसुवा। ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको छ ।

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबार साँझदेखि विद्युत् उत्पादन रोकिएको हो । खोलाको अवस्था सामान्य रहेमा सोमबारबाट पुनः विद्युत् उत्पादन सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले आयोजनाको बाँधसहित विभिन्न संरचनामा ठूलो क्षति पु¥याएको थियो । त्यसपछि मर्मत तथा पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको आयोजनालाई पुनः क्षति पुग्न सक्ने आशङ्कामा सुरुङतर्फ पानी लैजाने गेट बन्द गरिएको प्राविधिकहरूले बताएका छन् ।

रसुवागढी हाइड्रोपावरका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाका अनुसार खोलाको बहाव निरन्तर अनुगमन भइरहेको छ । अवस्था सुरक्षित देखिएमा आजैदेखि विद्युत् उत्पादन पुनः सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।

भोटेकोशी नदीमा पनि पानीको बहाव बढ्न थालेपछि रसुवागढी भन्सार यार्डमा रहेका मालवाहक सवारीसाधन तथा नयाँ आयातित सवारी तत्काल सुरक्षित स्थानमा सारिएको त्यहाँस्थित सुरक्षाकर्मीले जनाएका छन् । भन्सार यार्डको उत्तरी भागबाट बाढी पस्न सक्ने जोखिम रहेकाले यार्डको थप सुरक्षा र तटबन्ध निर्माण गर्न नेपाल इन्टरमोडल यातायात विकास समिति (प्रालि)सँग चालकहरूले माग गरेका छन् ।

गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामी छिरिङ तामाङले ल्हेन्दे खोला र भोटेकोशी नदी आसपास नजान तथा सवारीसाधन नदी किनारमा नराख्न स्थानीयवासीलाई आग्रह गर्नुभएको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार आइतबार साँझ आएको हल्का बाढीले मैलुङ सडकबाहेक अन्य स्थानमा उल्लेखनीय क्षति पुर्याएको छैन ।

मैलुङ सडकखण्ड जोखिममा परेकाले केरुङ आवतजावत गर्ने सवारीसाधनलाई बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रुबेँसी हुँदै रसुवागढी पुग्ने साविकको सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले यात्रु तथा चालकलाई जोखिमयुक्त सडक प्रयोग नगर्न अनुरोध गर्नुभएको छ ।

लगातारको वर्षाका कारण नदी तथा खोल्सामा पानीको बहाव बढिरहेकाले नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा नबस्न र यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ । कतै पनि विपद्को अवस्था देखिएमा आपत्कालीन निःशुल्क नम्बर १२३४ मा तत्काल जानकारी गराई उद्धार तथा राहत कार्यमा सहयोग गर्न प्रमुख जिल्ला अधिकारी परियारले सर्वसाधारणसँग अनुरोध गर्नुभएको छ ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्