अर्थ

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

झापा। पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा गिरावट आएको छ । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव २०८२÷८३ मा चिया निर्यातको परिमाण र आम्दानी दुवैमा कमी आएको हो ।

भन्सार कार्यालयको तथ्याङ्कअनुसार आव २०८२÷८३ मा रु तीन अर्ब ५२ करोड ९६ लाख ६९ हजार बराबरको १३ हजार ४५ मेट्रिक टन चिया निर्यात भएको थियो भने आव २०८१÷८२ मा रु चार अर्ब १६ करोड ९३ लाख ५८ हजार मूल्य बराबरको १५ हजार ३११ मेट्रिक टन चिया निर्यात भएको थियो ।

परिमाण घटेसँगै निर्यातबाट हुने आम्दानीबाट रु ६३ करोड ९६ लाख ८९ हजारको गिरावट आएको छ । प्रमुख भन्सार प्रशासक शिवलाल न्यौपानेका अनुसार यस नाका हुँदै निर्यात हुने वस्तुमा अलैँचीपछि चिया दोस्रो स्थानमा पर्ने गरेको छ । नेपाली चियाको मुख्य बजार भारत रहेकाले भारतीय बजारमा आउने मूल्य उतारचढाव, गुणस्तर परीक्षणका क्रममा देखिने गैरभन्सार अवरोध र अन्तरराष्ट्रिय बजारको मागअनुसार उत्पादन तथा मूल्य निर्धारणमा आउने परिवर्तनका कारण निर्यात प्रभावित भएको उहाँले बताउनुभयो ।

नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चियाको ठूलो हिस्सा पूर्वी नाका काँकडभिट्टा हुँदै भारतीय बजारमा पुग्ने गर्दछ । निर्यातमा आएको यो गिरावटले चिया उत्पादक किसान, उद्योगी र समग्र वैदेशिक व्यापार घाटामा असर पार्ने देखिन्छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्