कवि होम दिम्मालीको नयाँ कविता संग्रह ‘आत्मिकी अन्धकार’ भाग–२ प्रकाशित
राजविराज । कवि होम दिम्मालीको नयाँ कविता संग्रह ‘आत्मिकी अन्धकार’ भाग–२ प्रकाशित भएको छ ।
तीन दशक लामो सरकारी सेवाबाट निवृत्तिपछि सिर्जनामा सक्रिय होम दिम्मालीले परिचित होमनाथ खत्री साहित्यमार्फत समाज र मानव जीवनका नैतिक तथा आध्यात्मिक पक्षको अभिव्यक्तिमा समर्पित गर्दै आउनु भएको छ ।
यसअघि २०८१ सालमा प्रकाशित ‘आत्मिकी अन्धकार’ भाग–१ मा १४३ कविता समेटिका छन् भने नयाँ कृति भाग–२ मा १३६ कविता छन् ।
पहिलो भागमा ‘कुलत’देखि ‘भत्केका मान्छे’सम्मका विविध शीर्षकमा समकालीन सामाजिक विकृति, नैतिक पतन र मानवीय मूल्यप्रतिको चिन्ता व्यक्त गरिएको छ। दोस्रो भागमा ‘अज्ञात रोग’ देखि ‘हिंसात्मक सोच’मा टुङ्गिने कविताले पनि सोही वैचारिक यात्रालाई निरन्तरता दिनुभएको छ ।
‘अ’ अक्षरबाट सुरु हुने ३८ वटा कविता शीर्षकले कृतिको मूल वैचारिक आधार आत्मज्ञान र आत्मबोधतर्फ केन्द्रित रहेको संकेत गरेको छ ।
लेखक र प्रकाशक कवि खत्रीको दृष्टिमा आजको समाजमा प्रेम, सद्भाव, आत्मीयता, मानवता, विश्वास, शान्ति, अनुशासन, मर्यादा, कर्तव्यबोध र जिम्मेवारीजस्ता मानवीय गुण क्रमशः कमजोर बन्दै गएको छ ।
लोभ, स्वार्थ, अङ्कार, भ्रष्टाचार, हिंसा, अन्याय, षड्यन्त्र र व्यक्तिवादी सोचले लिएको उहाँको निष्कर्ष छ । यही सामाजिक यथार्थलाई कवि खत्रीले उजुरी शैलीमा प्रस्तुत गर्दै पाठकलाई आत्मचिन्तनतर्फ प्रेरित गर्न खोज्नु भएको छ ।
‘आत्मिकी अन्धकार’ भाग–२ का कवितामा कविको तीन दशक लामो सरकारी सेवाका अनुभव, समाज अवलोकन, मानवीय व्यवहारप्रतिको असन्तुष्टि र जीवनदर्शन अभिव्यक्त भएको पाइन्छ । ‘आत्मिकी ज्ञान’ शीर्षकको कवितामा कवि लेख्नुहुन्छ,
“आत्मिक ज्ञानका पारखी बसेका छन्, जीवनको बाटो, सत्य र जीवनको रहस्य बुझेर । हिँड्दैछन् आत्मिकी ज्ञानका पारखी सब यहाँ, प्रेम, सत्य र शान्तिको बाटो समाएर ।”
कविको मूल चिन्तन आत्मज्ञान, सत्य, प्रेम र शान्तिमार्फत नै मानव जीवनको सार्थकता सम्भव हुने विश्वासलाई स्पष्ट पार्नु भएको छ । यस कृतिका कविता शास्त्रीय वा आधुनिक कवितामा अपेक्षित लय, बिम्ब, प्रतीक र कलात्मक संरचनाभन्दा बढी सन्देशमुखी र अधिकांश कविता गद्यात्मक शैलीमा लेख्नु भएको छ । उहाँका कविता साहित्यिक प्रयोगशीलताभन्दा नैतिक तथा आध्यात्मिक शिक्षामा केन्द्रित छन् । त्यसैले कलात्मक परिष्कारभन्दा सामाजिक चेतना र नैतिक आग्रहलाई प्राथमिकता दिएको अनुभूति गराउनु भएको छ ।
असल शिक्षा र आत्मिक चेतनाबाट मात्र समाजमा प्रेम, सद्भाव, शान्ति, अनुशासन र उत्तरदायित्व पुनःस्थापित हुन सक्छ भन्ने सन्देश कृतिभरि निरन्तर प्रवाहित गर्नु भएको छ ।
कविले ‘आत्मिकी अन्धकार’मा समकालीन समाजमा देखिएका नैतिक विचलन र मानवीय मूल्यको ह्रासप्रति चिन्ता व्यक्त गर्नुभएको छ । कलात्मक जटिलताभन्दा आत्मबोध, नैतिक शिक्षा र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर लेखिएका यी कविताले पाठकलाई आत्ममूल्याङ्कन र सकारात्मक जीवनदृष्टितर्फ प्रेरित गर्ने प्रयत्न गरेका छन् ।