देवानगञ्ज घटनापछि सुनसरीका प्रमुख सुरक्षा अधिकारी हेरफेर
घटनापछि थप तनाव र समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित जिल्लाका प्रमुख सुरक्षा अधिकारीहरूलाई फिर्ता बोलाउँदै नयाँ जिम्मेवारी तोकेको छ।
गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाएर उहाँको स्थानमा सङ्खुवासभाका सिडिओ ईश्वरीप्रसाद अर्याललाई खटाउने निर्णय गरेको छ।
त्यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौँ तानिएको छ। उहाँको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डिआइजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेबेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइएको छ भने उहाँको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाउने निर्णय भएको छ।
यस्तै, सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उहाँको स्थानमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौँमा कार्यरत डिएसपी मदन नाथलाई खटाइएको छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो। घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए।
घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भइसकेको छ। समितिले एक साताभित्र प्रतिवेदन बुझाउने जनाइएको छ।
घटनापछि थप तनाव र समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्युको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिए पछि समस्याग्रस्त स्थानमा नेपाली सेनाले गस्ती गरिरहेको छ।