राजनीति

मिडियाको संख्या बढी भयो यसलाई व्यवस्थित गर्नुपर्छ : रास्वापा नेता गणेश पराजुली

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले मिडियाको संख्या अत्यधिक बढेकोले यसलाई व्यवस्थित गर्नुपर्ने बताएका छन्।

सोमबार सञ्चारकर्मीहरूसँगको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संसदीय मामिला पत्रकारितालाई थप व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन न्यूनतम मापदण्ड तय गरिनुपर्ने बताए।

संसदीय मामिलामा रिपोर्टिङ गर्ने सञ्चारकर्मीहरूको भूमिकालाई प्रभावकारी बनाउन संसद् सचिवालयसँग समन्वय गरी आवश्यक प्रशिक्षणको व्यवस्था गर्नुपर्ने उनले बताए।

उनले भने, ‘पहिलेको अवस्थामा एक वा दुईवटा मात्र मिडिया थिए भने आज मिडियाको संख्या अत्याधिक बढेको छ। यसलाई व्यवस्थित बनाउने क्रममा टीओआर कसरी तयार गर्ने, त्यसमा कसरी सुधार गर्ने भन्ने विषय महत्त्वपूर्ण छ। त्यसैगरी, संसदीय मामिलामा भूमिका निर्वाह गर्ने सञ्चारकर्मी साथीहरूले अझ प्रभावकारी रूपमा काम गर्न सकून् भन्ने उद्देश्यले यहाँहरूले नै प्रशिक्षणको आवश्यकता औँल्याउनुभएको छ। यो वास्तवमै सोचनीय विषय हो। संसद् सचिवालयसँग समन्वय गरी यसलाई कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ भन्ने पक्षमा पनि हामीले काम गर्नुपर्ने आवश्यकता छ। जवाफदेहिता जति सांसदहरूको छ, त्यति नै सञ्चार जगतको पनि छ।’

सञ्चारमाध्यममाथि अंकुश लगाउन खोजिएको हो कि भन्ने जिज्ञासाको खण्डन गर्दै उनले प्रेस स्वतन्त्रताप्रति पार्टी प्रतिबद्ध रहेको बताए।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्