डायस्पोरा

आबुधाबीमा ‘नेपाल–युएई आर्थिक साझेदारी’ कार्यक्रम सम्पन्न

आबुधाबी ।  नेपाललाई व्यापार, लगानी, पर्यटन र प्रविधि क्षेत्रको आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आबुधाबीस्थित नेपाली राजदूतावासको आयोजनामा ‘नेपाल–युएई आर्थिक साझेदारी’ विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ। 
जुलाई ९ मा आबुधाबीको कोनार्ड होटलमा आयोजित उक्त कार्यक्रमको कार्यक्रमको शुभारम्भमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले पठाएको विशेष सन्देश पढेर सुनाइएको थियो। आफ्नो सन्देशमा मन्त्री खनालले युएईका लगानीकर्ता र व्यवसायीहरूलाई नेपालका प्राथमिकताका क्षेत्रहरूमा लगानीका लागि आह्वान गर्दै नेपाल सरकारले दीर्घकालीन र पारस्परिक हितका साझेदारीका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा युएईको वैदेशिक व्यापार मन्त्रालयका उपसचिव महामहिम फहाद अल गेर्गावी र अर्थ तथा पर्यटन मन्त्रीका सल्लाहकार एवं आबुधाबी च्याम्बरका कोषाध्यक्ष महामहिम जुमा मोहम्मद अल कैत लगायत युएई सरकारका उच्च अधिकारीहरू, नीति निर्माताहरू र प्रतिष्ठित व्यवसायीहरूको उल्लेख्य उपस्थिति थियो।

नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आफ्नो मन्तव्यका क्रममा नेपाल र युएईबीचको ऐतिहासिक मित्रताको चर्चा गर्दै द्विपक्षीय आर्थिक सहयोग विस्तारका प्रचुर सम्भावनाहरू रहेको बताए। राजदूत क्षेत्रीले नेपालको लगानीमैत्री वातावरण, निरन्तर भइरहेका आर्थिक सुधार र विशेषगरी जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार निर्माणका क्षेत्रमा रहेका लगानीका अवसरहरूबारे प्रकाश पारे। उनले युएईका लगानीकर्ताहरूलाई नेपालको उदाउँदो बजारको खोजी गर्न र व्यावसायिक संलग्नता बढाउन प्रोत्साहन गरे।

सो अवसरमा नेपालको आर्थिक परिदृश्य र द्विपक्षीय अवसरका विभिन्न आयाममाथि चारवटा विषयगत कार्यपत्रहरू प्रस्तुत गरिएका थिए। राजदूतावासकी काउन्सिलर एवं नियोग उपप्रमुख रन्जिता दाहालले नेपालको आर्थिक अवस्था र लगानीका सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने नेपाल उद्योग वाणिज्य महासंघका मनोज पौडेलले व्यापार र लगानीका प्राथमिकताहरूमाथि प्रकाश पारे। त्यसैगरी, डेलोइट एण्ड टुचेका अबि मान जोशीले द्विपक्षीय लगानीलाई निर्देशित गर्ने कानुनी तथा कर सम्बन्धी व्यवस्थाका बारेमा जानकारी दिए भने फिटनेक एलायन्स नेपालका पूर्व अध्यक्ष साजन शर्माले नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भइरहेका नीतिगत सुधार र डिजिटल अर्थतन्त्रका अवसरहरू प्रस्तुत गरे।

१२० भन्दा बढी विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको उक्त कार्यक्रममा युएईका लगानीकर्ता, प्रविधि विज्ञ, पर्यटन व्यवसायी, सञ्चारकर्मी, गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधि र नेपाली उद्यमीहरूको उपस्थिति थियो। कार्यक्रममा नेपाली हस्तकलाका सामग्रीहरूको प्रदर्शनी र मौलिक सांस्कृतिक नृत्यहरू समेत प्रस्तुत गरिएको थियो।

सहभागीहरूलाई नेपाली अर्थोडक्स चिया उपहारस्वरूप प्रदान गरिएको उक्त कार्यक्रमको सञ्चालन राजदूतावासकी तृतीय सचिव सोनिया डोटेलले गरेकी थिइन्। कार्यक्रमको अन्त्यमा नेपालको लगानी सम्भावना झल्काउने प्रवर्द्धनात्मक भिडियो समेत प्रदर्शन गरिएको थियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्