सँगै बसेकाहरू
औँलामा गन्न सकिने छन्
छोडेर जानेहरू
गन्न पनि हम्मेहम्मे
अहो, कति धेरै रहेछन् !
सोच्छु,
म को हुँ ?
किन यसरी एक्लो हुँदैछु
एकान्तमा यसो गम खान्छु
र सोध्छु आफैँलाई
साँच्चै म को हुँ ?
फूल हुँ कि काँडा ?
रूख हुँ कि हाँगा ?
चौतारी हुँ कि छहारी ?
बडो अन्योलमा छु ।
नदी हुँ कि बगर हुँ
बगर हुँ कि नदी ?
नदी हुँ भने
जमेर यतै बसेको छु
बगर हुँ भने
बगेर कताकता पुगेको छु
साँच्चै म को हुँ ?
सोच्छु–
हिमाल हुँ कि पहाड ?
तराई हुँ कि बञ्जर ?
तरल हुँ कि पत्थर ?
भिरालो हँु कि समथर ?
नाम छ÷नक्सा छ
तर पनि सपाट
पन्ना खाली छ
लेख्नेले जे लेखे पनि हुने
आएर कसैले मेटे पनि हुने
खै, कस्तो छ भनुँ !
सोध्यो भने कसैले
म के भनुँ
साँच्चै म को हुँ भनुँ ?
सपनाहरू छन्
असरल्ल पछारिएका
बिपनाहरु छन्
अनन्त लतारिएका
मुर्दा हुँ भनुँ
चिमोट्दा दुख्छ
जीवित छु भनुँ
न घातले पोल्छ
न प्रतिघातले उठ्छ
डढेलोले खाएको
हरियो फाँटजस्तो
धुँवैधुँवाले ढाकिएको छु
आगोले पोल्छ÷पानीले रूझाउँछ
हावाले उडाउँछ÷जूनले गिज्याउँछ
सोच्छु–
वास्तवमा हुन चै म को हुँ ?
आउनेहरू आउँछन्
नसोधी आउँछन्
जानेहरू जान्छन्
नसोधी जान्छन्
आउने र जानेहरूमा
म टुव्रिmन्छु÷पग्लिन्छु
फुटेर चकनाचुर हुन्छु
र पनि आउनेहरू आइरहन्छन्
आउँछन् र बेस्सरी चुमेर जान्छन्
जानेहरू खै किन जान्छन् ?
सुटुक्क जान्छन्
र पुगेपछि कुइनेटोमा
टक्क रोकिन्छन् र फर्केर हेर्छन्
खै किन हेर्छन् ?
भन्न पनि गाह्रो छ
असामन्जस्यमा छु
तिनीहरू मलाई माया गर्छन् कि घृणा ?
म तिनीहरूलाई माया गर्छु कि घृणा ?
बडो द्वुविधामा छु
रित्तो छु भनुँ भरिलो छु
भरिलो छु भनुँ रित्तो छु
वास्तवमा हुन चाहिँ म कस्तो छु ?
बडो अन्योलमा छु ।