डायस्पोरा

लस एन्जलस । नेपाली उद्यमी भूषण गौली र उनको समुहले विश्वस्तरीय बायोमेट्रिक सफ्टवेयर बनाएको दावी गरेका छन् । गौलीको नेतृत्वमा विकास गरिएको अत्याधुनिक वेब-आधारित बायोमेट्रिक तथा फिंगरप्रिन्टिङ सफ्टवेयर अहिले अमेरिकाका विभिन्न राज्यमा सफलतापूर्वक प्रयोग भइरहेको छ।

यो कुनै सामान्य व्यावसायिक सफ्टवेयर नभएर फिंगरप्रिन्ट स्क्यानर, प्रमाणित प्रिन्टर र अन्य आवश्यक हार्डवेयरहरूसँग सहजै एकीकृत भई बायोमेट्रिक डेटा सुरक्षित रूपमा प्रशोधन गर्ने उच्च प्रविधियुक्त प्रणाली हो।

अमेरिकामा सरकारी निकायहरूसँग मिलेर काम गर्ने संस्थाहरूका लागि आवश्यक कडा प्राविधिक मापदण्ड र सुरक्षा प्रमाणीकरण प्रक्रिया पार गरेर यो सफ्टवेयर तयार गरिएको हो।

उद्यमी भूषण गौलीका अनुसार आफ्नै व्यवसाय सञ्चालनका क्रममा अरू कम्पनीका महँगा सफ्टवेयरमा निर्भर रहनुपरेपछि उनलाई आफ्नै प्रणाली विकास गर्ने सोच आएको थियो।

आवश्यक प्राविधिक अध्ययन र डिजाइनपछि नेपाली प्राविधिकहरूकै सक्रिय सहभागितामा यो सफ्टवेयरको निर्माण सम्पन्न भयो। हाल अमेरिकाभरिका आप्रवासन कानुन व्यवसायी, फिंगरप्रिन्टिङ सेवा प्रदायक, मेलबक्स व्यवसाय र मोबाइल फिंगरप्रिन्टिङ सेवा दिने दर्जनौँ संस्थाहरूले यसलाई अपनाइसकेका छन्।

ठूला र स्थापित अन्तर्राष्ट्रिय कम्पनीहरूको वर्चस्व रहेको अमेरिकी फिंगरप्रिन्टिङ बजारमा एउटा नेपाली नेतृत्वको टोलीले प्रतिस्पर्धी उत्पादन ल्याएर ग्राहकको विश्वास जित्नु आफैँमा ठुलो उपलब्धि हो। भूषण गौलीसँग एक दशकअघि नेपालमै स्मार्ट कार्ड र बायोमेट्रिकमा आधारित सामाजिक सुरक्षा वितरण प्रणाली विकास गरेको अनुभव समेत छ, जुन आजको आधुनिक डिजिटल पहिचान प्रणाली सरहकै थियो।

यो सफलताले नेपाली प्राविधिकहरूसँग विश्वस्तरीय डिजिटल समाधान विकास गर्ने उच्च क्षमता रहेको प्रमाणित गरिदिएको छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई), साइबर सुरक्षा, डिजिटल आइडी र क्लाउड प्रविधिको वर्तमान युगमा नेपाली उद्यमीहरू केवल सेवामुखी आउटसोर्सिङमा मात्र सीमित नभई आफ्नै बौद्धिक सम्पत्ति र ब्रान्ड निर्माणमा अघि बढेका छन्।

नेपाली डायस्पोराको यो नयाँ फड्कोले नेपालका हजारौँ युवाहरूलाई स्पष्ट सन्देश दिएको छ—विश्वस्तरीय प्रविधि निर्माण गर्न सिलिकन भ्यालीमै जन्मिनु पर्दैन; सही ज्ञान, निरन्तरता र आत्मविश्वास भए नेपालीहरूले पनि विश्व बजारमा प्रभाव पार्ने प्रविधिको सिर्जना गर्न सक्छन्। नेपालीहरू अब केवल विश्वका लागि श्रम गर्ने जनशक्ति मात्र होइनन्, विश्व बजारलाई प्रविधि दिने सिर्जनकर्ता पनि बन्दैछन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्