काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश खारेजी र संघीयता पुनर्संरचना गर्ने प्रस्ताव महाधिवेशनबाट पारित गरेपछि मधेस केन्द्रित दलहरु आन्दोलनको तयारीमा जुटेका छन् ।
शनिबार मधेसकेन्द्रित दलका नेता तथा केही नागरिक अगुवाहरूले बैठक बसी आन्दोलनमा जाने निर्णय गरेका हुन् ।
शनिबारको बैठकमा जनता समाजवादी पार्टी नेपालका संरक्षक एवं राष्ट्रिय सभा सदस्य महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, जसपा नेपालका नेता राजकिशोर यादव, राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झा, सन्तोष मेहता र रामकुमार शर्मालगायत नेताहरू तथा केही नागरिक अगुवाहरूको उपस्थिति थियो ।
बैठकमा सहभागी एक नेताले भने, ‘आन्दोलनका लागि छुट्टै संगठन बनाइने तर त्यो राजनीतिक दल हुने छैन । राजनीतिक दलले भन्दा पनि एउटा छुट्टै गैरदलीय संगठन बनाएर आन्दोलन गरिनेछ, जसमा राजनीतिक दलका नेता र नागरिक समाजका अगुवाहरू रहने छन् ।’
रास्वपा पहिलेदेखि नै संघीयताविरोधी पार्टी भएको र अहिलेको महाधिवेशनले त्यसलाई पुष्टि गरेको नेताहरूको भनाइ छ ।
संघीयता जोगाउनका लागि दलभन्दा माथि उठेर आन्दोलनमा जानुपर्ने र उक्त आन्दोलनमा हरेक पार्टीका व्यक्ति तथा नागरिक समाजलगायत क्षेत्रलाई जोड्ने योजना नेताहरूले बनाएका छन् । आन्दोलनको अगुवाइ कसले गर्ने र संगठनको नाम के राख्ने भन्ने विषय अझै तय भइसकेको छैन, तर गैरराजनीतिक रूपमा आन्दोलनमा जानुपर्ने सहमति भएको ती नेताले बताए ।
आन्दोलन केन्द्रित बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भने बोलाइएको थिएन ।