एक्सक्लुसीभ

इरानसँगको सम्झौतामा आइतबार हस्ताक्षर हुने ट्रम्पको दाबी

वाशिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौतामा आइतबार हस्ताक्षर हुने बताएका छन्। सम्झौतापछि स्ट्रेट अफ होर्मुज तत्काल सबैका लागि खुला हुने उनले दाबी गरेका छन्।

ट्रम्पले सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन्। उनका अनुसार सम्झौताले क्षेत्रीय तनाव कम गर्न र महत्वपूर्ण समुद्री मार्गको सञ्चालन पुनः सुचारु गर्न मद्दत गर्नेछ।

यद्यपि, ट्रम्पको भनाइ इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईको अभिव्यक्तिसँग मेल खाँदैन। बघाईले यसअघि आइतबार सम्झौतामा हस्ताक्षर नहुने, तर आगामी दिनमा सम्भव हुन सक्ने बताएका थिए।

गत फेब्रुअरीको अन्तिम साता अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्व क्षेत्र तनावग्रस्त बनेको छ। विश्व ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज बन्द रहँदा अन्तर्राष्ट्रिय बजारमा समेत यसको प्रभाव परेको छ।

यसैबीच, प्रत्यक्ष भेटघाटका क्रममा उत्पन्न हुन सक्ने लजिस्टिक चुनौती र प्रक्रियागत अवरोधलाई ध्यानमा राख्दै अधिकारीहरूले सम्झौतामा भर्चुअल हस्ताक्षर गर्ने विकल्पबारे तयारी गरिरहेको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ।

एक अमेरिकी अधिकारीका अनुसार प्रस्तावित समझदारी पत्रले सम्झौताको कार्यान्वयन प्रक्रिया र बाँकी रहेका विवादित विषय समाधानका लागि थप ६० दिनको वार्ता अवधि तय गर्नेछ। यसले दुवै पक्षबीच संवादलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.