खेलकुद

मेस्सीको पुनरागमनसँगै आइसल्यान्डमाथि अर्जेन्टिनाको सानदार जित

काठमाडौँ । कप्तान लियोनल मेस्सीले पुनरागमन गरेसँगै फिफा विश्वकप–२६ तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्यान्डमाथि सानदार जित निकालेको छ ।

अमेरिकास्थित अलाबामाको अउबर्नमा बुधबार बिहान भएको खेलमा साविक विजेता अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० गोलले हरायो । चोटका कारण केही समयदेखि मैदान बाहिर रहनुभएका मेस्सीले समेत आइसल्यान्डबिरुद्ध गोल गर्नुभयो ।

मेस्सी इन्टर मियामीको मेजर लिग सकर (एमएलएस)अन्तर्गत फिलाडेल्फिया युनियनविरुद्धको खेलमा घाइतेभएपछि आराममा हुनुहुन्थ्यो । सुरुवातमा बेन्चमा रहनुभएका मेस्सीले खेलको अन्तिममा आएर गोल गर्नुभएको हो ।

यसअघि आठौँ मिनेटमा भालेन्टिन बार्कोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाउनुभयो । त्यसपछि मेस्सीले ७२औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । यस्तै ८७औँ मिनेटमा थियागो आल्माडाले गोल गर्दै अर्जेन्टिनालाई सजिलै जिताउनुभयो ।

कीर्तिमानी छैटौँ पटक विश्वकप खेल्न लाग्नुभएका मेस्सी प्रेरित अर्जेन्टिना अहिले उपाधि रक्षा गर्ने लक्ष्यका साथ अमेरिकामा छ । अर्जेन्टिना यस विश्वकपमा समूह ‘जे’ बाट प्रतिस्पर्धा गर्दैछ ।

अर्जेन्टिनाले असार ३ गते अल्जेरियासँग खेल्दै विश्वकपको औपचारिक सुरुवात गर्ने छ । यस समूहमा जोर्डन र अष्ट्रिया पनि रहेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्