रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज अपरान्ह पांच दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दैछन । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेले जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म भारत भ्रमण गर्नु लागेको रास्वपाले जनाएको छ ।
पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार भ्रमणका क्रममा सभापति लामिछानेले भारतको नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ । अध्यक्ष लामिछानेले भाजपा नेतृत्वसँग समेत भेटघाट तथा छलफल गर्ने जनाइएको छ ।
भ्रमणका अवसरमा भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि उनले भेटघाट गर्नेछन । साथै अयोध्याको भ्रमणका कार्यक्रम समेत रहेको विज्ञप्तिमा जनाइएको छ ।
सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी हुने छन् । रास्वपाका प्रवक्ता मनीष झाले जारी गर्नुभएको विज्ञप्ति अनुसार नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले सभापति लामिछानेका उच्चस्तरीय भेटवार्ताका लागि आवश्यक समन्वय गरिरहेको छ ।
रास्वपाले उक्त भ्रमणले नेपाल–भारत सम्बन्ध तथा दुई देशका राजनीतिक दलबिचको संवादलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।
आइतबार सत्तारुढ भारतीय जनता पार्टी, (भाजपा)ले सभापति लामिछानेको भारत भ्रमणबारे आधिकारिक जानकारी सार्वजनिक गरेको थियो।भ्रमण क्रममा रास्वपा प्रतिनिधिमण्डलले अध्यक्ष नवीनसहित पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको भाजपाको विज्ञप्तिमा उलेख छ।
स्रोतका अनुसार रास्वपा सभापति लामिछाने नेतृत्वको टोलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायत नेताहरूसँग भेटवार्ता गर्ने छ। यद्यपि भेटघाटको समय भने तय भइसकेको छैन।
भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण स्थगित हुनु र नेपालका नवनिर्वाचित प्रधानमन्त्रीको परम्परागत भारत भ्रमणको मिति तय नहुनुले नेपालको दक्षिणी छिमेकीसँगको सम्बन्धलाई लिएर प्रश्न उठ्न थालेका बेला सत्तारूढ दलको अध्यक्षको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।