एक्सक्लुसीभ

आइसिसी विश्वकप लिग–२: स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौँ स्थानमा

काठमाडौँ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले विश्व कीर्तिमान रचेको खेलमा नेपालले स्कटल्यान्डमाथि सहज जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप लिग–२ मा नेपालले सोमबार स्कटल्यान्डलाई ६ विकेटले हरायो । जितसँगै लिगमा २७ खेलबाट २२ अङ्क बनाएको नेपाल पाँचौँ स्थानमा उक्लिएको छ ।

यसअघि नेपाल सातौँ स्थानमा थियो । पराजित स्कटल्यान्ड ३१ खेलबाट ३८ अङ्क जोड्दै शीर्षस्थानमा छ । यस सिरिजको अर्को टोली अमेरिका २६ खेलबाट ३६ अङ्कसहित दोस्रो स्थानमा छ । नेपालले यस सिरिजको अन्तिम खेल अब ८ गते अमेरिकासँग खेल्ने छ ।

जितका लागि एक सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८.१ ओभरमा चार विकेटको क्षतिमा एक सय ९९ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेल र इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेले । रोहितले अविजित ७४ रन बनाउनुभयो । उहाँले ९८ बलमा पाँच चौका र दुई छक्का हान्नुभयो । रोहितको यो खेल जीवनको १२औँ अर्धशतक हो ।

यस्तै इशान पाण्डेले ६१ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ५५ रन बनाउनुभयो । ओपनर आशिफ शेखले २९ र कुशल भुर्तेलले २८ रन बनाए ।

आरिफ शेखले अविजित आठ र दीपेन्द्रसिंह ऐरी दुई रनमा आउट हुनुभयो । बलिङमा स्कटल्यानडका मार्क वाटले दुई तथा ब्रान्डन म्याकमुलेनले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९४ रन बनाएको थियो ।

स्कटल्यान्डका लागि ब्रान्डम क्याकमुलेनले सर्वाधिक ७३ रन बनाउनुभयो । उहाँले ४४ बलमा ६ चौका र ६ नै छक्का हान्नुभयो । माइकल इङग्लिसले ५१, जर्स मुन्सीले २१ र मार्क वाटले २० रन बनाए ।

बलिङमा नेपालका ललित राजवंशीले चार विकेट लिनुभयो । सन्दीप लामिछानेले तीन तथा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र नन्दन यादवले एक एक विकेट बनाए ।

ललित राजवंशी प्लेयर अफ दि म्याच भए । यस खेलमा तीन विकेट लिएसँगै सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाए ।

नेपाली टोलीका पूर्व कप्तानसमेत रहेका सन्दीपले सर्वाधिक छिटो एक सय ५० विकेट लिने खेलाडीको विश्व कीर्तिमान बनाएका हुन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.