इमिग्रेशन अपडेट

पश्चिम एसियाको द्वन्द्वपछि ३० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए : परराष्ट्र मन्त्रालय

काठमाडौँ । पश्चिम एसियामा उत्पन्न द्वन्द्वपछि हालसम्म ३० हजारभन्दा बढी नेपाली नागरिक सो क्षेत्रबाट स्वदेश फर्किएका छन् ।

संयुक्त राज्य अमेरिका र इरानबीचको युद्धले सो क्षेत्रमा तनाव उत्पन्न भएपछि वैदेशिक रोजगारीलगायत काममा गएका मध्ये ३० हजारभन्दा बढी नेपाली घर फर्किएका परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

मन्त्रालयका अनुसार ती नागरिकहरू तत्कालको परिस्थितिका कारण र बिदामा घर फर्कनुभएको हो । त्यसमध्ये २१ हजार नेपाली नागरिक कतारबाट फर्किएका मन्त्रालयको मध्ये एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काले जानकारी दिनुभयो ।

यसैगरी उक्त द्वन्द्वपछि मन्त्रालयको कन्सुलर सेवा विभागले सुरु गरेको अनलाइन पोर्टलमा हालसम्म सो क्षेत्रका ८७ हजार ८१९ जनाले आफ्नो अवस्थाका बारेमा दर्ता गराउनुभएको उहाँले बताउनुभयो ।

द्वन्द्वका क्रममा इरानको हर्मुज क्षेत्रमा पानीजहाजसहित पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाइको पहल भइरहेको महाशाखाका प्रमुख खड्काले जानकारी दिनुभयो । उहाँ छिट्टै रिहाइ हुनुहुने मन्त्रालयले जनाएको छ ।

यसैगरी कामको सिलसिलामा इरानमा रहेका १० नेपाली नागरिकमध्ये दुई जना स्वदेश फर्कने तयारीमा रहनुभएको बताउँदै बाँकी आठ जना हाल सुरक्षित महसुस गरी इरानमा रहनुभएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो । मन्त्रालयले सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र आवश्यक सहजताका लागि आपतकालीन प्रतिकार्य समूहमार्फत काम गरिरहेको जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता क्षेत्रीले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका लागि भारत सरकारबाट निमन्त्रणा प्राप्त भएको जनाउँदै भ्रमणको प्रारम्भिक तयारी भइरहेको उल्लेख गर्नुभयो ।

यसैगरी उहाँले हाल राहदानी वितरणको कार्य सहज रूपमा भइरहेको उल्लेख गर्दै जनतालाई घरमै गएर राहदानी पुर्‍याउने व्यवस्थाका लागि हुलाक विभागसँग समन्वय भइरहेको बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.