नेपाल

नियोकको अवलोकन: मतदान अधिकांश स्थानमा शान्तिपूर्ण

काठमाडौँ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीवार सम्पन्न मतदान अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।

नियोकले देशभरका ७७ जिल्लामा सञ्चालन भएको मतदान प्रक्रियाको अनुगमनका लागि जिल्ला, प्रदेश तथा केन्द्रस्तरबाट तालिम प्राप्त १५०० भन्दा बढी राष्ट्रिय तथा एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय पर्यवेक्षक परिचालन गरिएको जनाएको छ।

काठमाडौँस्थित नियोकको कल सेन्टरले विभिन्न क्षेत्रका पर्यवेक्षकसँग साँझ ५:३० बजेसम्म सम्पर्क गरी सङ्कलन गरेको सूचनाका आधारमा मतदान तथा समापन अवस्थाबारे पत्रकार सम्मेलन मार्फत जानकारी सार्वजनिक गर्नुभएकाे हो।

पत्रकार सम्मेलनमा अधिकांश स्थानमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भएको भए पनि केही स्थानमा आपसी विवाद, छिटपुट झडप तथा मतपत्र खोल्ने (दोलखा) जस्ता घटना भएको नियोकले जनाएकाे छ।

पहिलो पटक मतदान गर्ने युवादेखि १०८ वर्षसम्मका ज्येष्ठ नागरिकले पनि मतदान गरेको जानकारी प्राप्त भएको नियोकले जनाएको छ।

नियोकका अनुसार विगतका निर्वाचनको तुलनामा मतदान स्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो। तर केही स्थानमा पर्यवेक्षकलाई स्वतन्त्र रूपमा अवलोकन गर्न नदिएको गुनासो पनि आएको जनाइएको छ।

त्यसैगरी, करिब ११ प्रतिशत मतदान केन्द्रमा अपराह्न पाँच बजेदेखि साढे पाँच बजेसम्म मतदान सम्पन्न भएको जानकारी दिनुभएको छ।

नियोकले विषम परिस्थितिका बाबजुद निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेलेका मतदाता, निर्वाचन आयोग, नेपाल सरकार, सुरक्षा निकाय, राजनीतिक दल, उम्मेदवार तथा पर्यवेक्षकहरूलाई धन्यवाद व्यक्त गरेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.