नेपाल

नेपालबाट नौ देशमा रोकियो उडान

काठमाडौँ । पश्चिम एसियाका देशमा चर्किएको युद्ध र हवाईक्षेत्र बन्दका कारण नेपालबाट नौ वटा देशमा अन्तर्राष्ट्रिय उडान रोकिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार फागुन २८ देखि बुधबारसम्म पूर्वनिर्धारित १०४ अन्तर्राष्ट्रिय उडान अवतरण रद्द भएका छन् । युद्धको त्रासदीबिच उडान रद्द भएपछि बुधबारसम्म पश्चिम एसियाका देशबाट नेपाल आउने र नेपालबाट जाने करिब १७ हजार यात्रुको उडान प्रभावित भएको छ ।

विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार पश्चिम एसियामा तनावकै बिच बुधबार फ्लाई दुबईले काठमाडौँमा उडान सुरु गर्ने तयारी गरे पनि जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, एयर अरेबिया, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सले उडान रद्द गरेका छन् ।

उहाँले भन्नुभयो, “अहिले नेपालबाट पश्चिम एसियाका नौ वटा देशमा उडान रोकिएको छ । संयुक्त अरब इमिरेट्सबाट बुधबार फ्लाई दुबईले उडान गर्ने तयारी गरे पनि कुवेत, सारजहाँ, आबुधाबी र दोहाको हवाई आकाशमा जारी प्रतिबन्धका कारण उक्त गन्तव्यको उडान अनिश्चित छ । युद्धको असर नपरेका मुलुकमा भने नियमित उडान भइरहेको छ ।”

उहाँका अनुसार कतार, युएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको हवाईक्षेत्रमा प्रतिबन्ध हुँदा खाडीका विभिन्न गन्तव्यको उडान रोकिएको छ ।

फागुन २८ गतेयता उडान स्थगनबाट प्रभावित यात्रुलाई सहुलियत दिन हवाईसेवा कम्पनीले एक पटक मिति परिवर्तन गर्दा लाग्ने शुल्क नलाग्ने, टिकट फिर्ता लिँदा शुल्क नकाट्ने र सिट उपलब्धताका आधारमा पहिले आउनेलाई पहिले सेवा दिने सुविधा दिएका छन् । उक्त सुविधा उडान नियमित भएको ४५ दिनभित्र प्रयोग गर्नुपर्ने छ ।

वायुसेवा कम्पनीले हवाईक्षेत्र खुल्ने समय निश्चित नभएकाले प्रभावित यात्रुलाई सम्पर्कमा रहन र निरन्तर उडान अवस्थाबारे अद्यावधिक जानकारी लिन आग्रह गरेका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्