डायस्पोरा

मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा लागि सरकारको ध्यानाकर्षण

काठमाडौँ । मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा तथा आपत्कालीन समन्वयका लागि गैरआवासीय नेपाली संघले सरकारको ध्यानाकर्षण गराएको छ। संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईलाई भेटेर ध्यानाकर्षण गराएको हो।

सो क्रममा अध्यक्ष केसीले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिले त्यहाँ रहेका प्रमुख श्रम गन्तव्य मुलुकहरूमा त्रास र अनिश्चितताको अवस्था सिर्जना गरेको बताए। गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्ले मध्यपूर्व क्षेत्रका पछिल्ला घटनाक्रमहरूलाई गम्भीरतापूर्वक नियालिरहेको र त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे बुझिरहेको जानकारी पनि गराए।

विगतमा कोभिड–१९ महामारीका समयमा समेत संघले Relief, Repatriation and Rehabilitation (RRR) कार्यक्रममार्फत मध्यपूर्व लगायत विभिन्न देशहरूमा समस्यामा परेका नेपालीहरूको सफल उद्धार, स्वदेश फिर्ती तथा पुनर्स्थापनामा प्रभावकारी भूमिका निर्वाह गरेको स्मरण गराउँदै उनले सोही अनुभव, सञ्जाल र संरचनालाई सक्रिय पार्दै वर्तमान परिस्थितिमा पनि आवश्यक सहयोग गर्न संघ पूर्ण रूपमा तयार रहेको उल्लेख गरे।

त्यसैगरी, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा गैरआवासीय नेपाली संघबीच उच्चस्तरीय समन्वय स्थापना गरी आपत्कालीन संयन्त्र यथाशीघ्र निर्माण गर्न डा केसीले आग्रह गरे। साथै आवश्यक परेमा नेपाल सरकार तथा संघको आफ्नै संयन्त्रमार्फत मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको उद्धार, सुरक्षित स्थानान्तरण तथा आवश्यक राहत व्यवस्थापनका लागि तत्काल पहल गर्न संघ तत्पर रहेको उल्लेख गरे।

सचिव राईले पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो परिस्थितिपछि त्यहाँ रहेका लाखौँ नेपाली नागरिकको सुरक्षा र सम्भावित उद्धारका लागि नेपाल सरकारले ‘र्‍यापिड एक्सन टिम’ गठन गरी काम सुरु गरेको जानकारी दिए।

परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार परराष्ट्र सचिवको संयोजकत्वमा गठन गरिएको उक्त टिममा गैरआवासीय नेपाली संघ लाई समेत समेटेर अघि बढाइने उनले बताए। उक्त टिमले सम्बन्धित निकाय तथा अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गर्दै आवश्यक कदम चाल्नेछ। साथै, त्यहाँ रहेका नेपाली नागरिकलाई नियमित सूचना र आवश्यक सहायता उपलब्ध गराउने व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए।

यसैगरी, सरकारले अनलाइन पोर्टलमार्फत आफ्ना समस्या तथा जिज्ञासा जानकारी गराउन सक्ने व्यवस्था सुरु गरेको उल्लेख गर्दै उनले भने, “हामी सहकार्यका लागि सधैँ तयार छौँ।”

उक्त अवसरमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री, श्रम आप्रवासन तथा गैरआवासीय नेपाली समन्वय महाशाखा प्रमुख पुष्प राज भट्टराई,पश्चिम एसिया क्षेत्र हेर्ने महाशाखा प्रमुख राम काजी खड्का, उप(सचिव (कानून) राजा राम दाहालको उपस्थिति थियो भने संघका तर्फबाट आइसीसी सचिब पारसमणि पोखरेल, आइसिसी सदस्य भविन्द्र बस्नेत,संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत र वरिष्ठ सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्र लक्ष्मी घिमिरेको समेत उपस्थिति रहेको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्