राजनीति

गोली चलाउने आदेश दिएको होइन: एमाले अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ गते भएको दुःखद् घटनामा प्रधानमन्त्रीका हैसियतमा आफूले गोली चलाउने आदेश नदिएको स्पष्ट पार्नुभएको छ । उहाँले संविधानले कुनै पनि प्रधानमन्त्रीलाई नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार नदिएको उल्लेख गर्दै आफूले त्यस्तो आदेश कहिल्यै नदिएको प्रष्ट पार्नुभएको हो ।

घटनाबारे सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले घटनापछि तत्काल पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरिएको बताउनुभयो । घटनामा ज्यान गुमाएका १९ जना नानी–बाबुहरूप्रति अध्यक्ष ओलीले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। उहाँले उक्त घटना आफ्नो लागि गहिरो पीडाको विषय बनेको बताउनुभएको छ ।

सरकारले प्रारम्भमा घुसपैठको सम्भावना देखेर माइतीघरमा प्रदर्शन रोक्ने निर्णय गरे पनि शान्तिपूर्ण सभाका लागि युवाहरूले अनुमति मागेपछि प्रशासनले सहजै अनुमति दिएको अध्यक्ष ओलीको भनाइ छ। माइतीघरमा बिहान सुरु भएको जेन–जी युवाहरूको प्रदर्शन पूर्ण रूपमा शान्तिपूर्ण रहेको र त्यहाँ न गोली चलेको न लाठीचार्ज भएको उहाँले स्पष्ट पार्नुभएको छ।

करिब मध्याह्नतिर केही घुसपैठकारी समूहले प्रदर्शनकारी युवाहरूलाई घेरेर निषेधित क्षेत्रतर्फ लगेको अध्यक्ष ओलीको दाबी छ। आयोजकहरूले पटक–पटक घुसपैठ भएको भन्दै घर फर्किन आग्रह गरे पनि योजनाबद्ध रूपमा बालबालिका तथा विद्यालय पोशाकमा रहेका नानीबाबुलाई अगाडि राखेर संसद भवनतर्फ लगेको उहाँको भनाइ छ।

अध्यक्ष ओलीका अनुसार संसद भवनअघि आगजनीको प्रयास र विस्फोटक पदार्थ प्रयोग भएपछि अवस्था ‘आन्दोलन’को नभई ‘राज्यविरुद्धको आक्रमण’को तहमा पुगेको थियो । संसद भवनभित्र सुरक्षा निकायमाथि प्रत्यक्ष आक्रमण भएपछि कानुनअनुसार बल प्रयोग गर्नुपरेको उहाँले बताउनुभएको छ ।

अध्यक्ष ओलीले लेख्नुभएको छ, “यदि सुरक्षाकर्मीले आफ्ना हतियार खोसिन दिएको भए के हुन्थ्यो ? संसद भवन जलेको भए देशले कस्तो क्षति भोग्नुपर्थ्यो ?” विस्फोटक सामग्रीसहित आएका समूहहरूको उद्देश्य अराजकता फैलाउने रहेको कुरा पछिल्ला घटनाले पुष्टि गरेको अध्यक्ष ओलीको भनाइ छ।

भदौ २४ गते भएको विध्वंशतर्फ संकेत गर्दै उहाँले आफ्नो राजीनामा पछि सिंहदरबार, राष्ट्रपति भवन र सर्वोच्च अदालतजस्ता राष्ट्रिय धरोहरमा आगजनी भएको स्मरण गराउनुभएको छ । प्रधानमन्त्रीले विश्वका सबै देशमा प्रमुख संवैधानिक अंगहरूको सुरक्षा कानुनअनुसार हतियारसहित गरिने उल्लेख गर्दै सुरक्षाकर्मीहरूले सरकारको होइन, कानुनको शपथ लिने बताउनुभयो। त्यस दिन पनि गोली सरकारको आदेशमा नचलेको उहाँको स्पष्टिकरण छ।

सामाजिक सञ्जालमा फैलाइएका भ्रामक प्रचारमा नलाग्न अध्यक्ष ओलीले नागरिकलाई आग्रह गर्दै शान्तिपूर्ण प्रदर्शनबाट युवाहरूलाई संसद भवनजस्तो संवेदनशील क्षेत्रमा कसले, किन र कसरी लग्यो भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने उहाँको भनाइ छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.