नेपाल

धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते

धरान । जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्ट बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को१ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिनुभयो ।

सुनसरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक खड्काका अनुसार दुर्घटनामा मृत्यु हुनेमा महोत्तरीको साम्सी गाउँपालिकाको गैढाभेटपुरका धैरियाकुमार यादव, जनकपुरका १८ महिने बालक ऋषमकुमार मण्डल, सुनसरीको बराहक्षेत्र–३ का ओमेश राई, झापाको मेचीनगरका नयन थापा मगर तथा धरान–१३ का सुवेक्षा सुब्बा रहेका छन् ।

धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको बस धरान उपमहानगरपालिका–१३ जिरो प्वाइन्टमा दुर्घटना भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, जनकपुरबाट सुनसरी यातायात कार्यालयमा गाडी नामसारी गर्न आएको बस भेडेटार घुम्न जाने क्रममा डिजल सकिएपछि बाटोबाटै फर्काउने क्रममा दुर्घटनामा परेको हो ।

बसमा सवार घाइते १३ जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.