नेपाल

बाढी प्रभावितको उद्धार रातभर जारी रहन्छ : नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले आज रातभर रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितको उद्धार र खोज जारी राख्ने भएको छ । बाढीबाट प्रभावितको सङ्ख्या अत्यधिक रहेको र उद्धारका लागि चौतर्फी अपिल भइरहेको सन्दर्भमा नेपाली सेनाले उद्धार तथा खोज कार्यलाई रातभर जारी राख्ने भएको जनाएको छ।

सेनाका अनुसार आज रातभर ‘११ एक्स टिम’ बाट जमिनी उद्धार जारी रहनेछ । साथै बिहीबार बिहान टिमुरेमाथि रहेको ठुलो सङ्ख्यालाई हवाई उद्धार गरिनेछ । विभिन्न सुरुङमा अड्किएका व्यक्तिको उद्धारको प्रयास जारी रहनेछ।

नेपाली सेनाले उद्धारका लागि थप समन्वयका साथ हवाई साधनको असरदार परिचालन, राहत सामग्री वितरण, मित्रराष्ट्रबाट प्राप्त हुन आउने राहत सामग्रीको ढुवानीलाई सहयोग गर्नेछ । त्यस्तै, जमिनमा थप फौज तैनाथ गरी विस्तृतमा खोज तथा उद्धार गर्न साथै अन्य सुरक्षा निकाय, सरोकारवाला संस्था तथा जनमानससँगको समन्वयमा लक्षित वर्गको उद्धार जारी राख्ने सेनाले जनाएको छ।

सेनाका अनुसार आज दिनभर एक हजार ६९७ परिचालन गरिएको थियो । थप तयारीका लागि ६५६ जना फौज तयारी अवस्थामा राखिएको छ । सेनाका अनुसार आज दिनभर उद्धार, खोज तथा राहतका कार्यक्रममा छ वटा सैनिक हेलिकप्टरबाट ९४ जनाको उद्धार तथा पाँच गैरसैनिक हेलिकप्टरबाट १२ जनाको उद्धार गरिएको छ । जमिनी उद्धार २७ जनाको गरिएको छ।

नेपाली सेनाका अनुसार आज ८०० केजी टेन्ट, २०० केजी मेडिकल सामग्री प्रभावित क्षेत्रमा लगिएको छ । उद्धारका लागि खटिएका हेलिकप्टरबाट खाना तथा पानी उपलब्ध गराइएको छ । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्