रसुवाको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखामा ५५ जनाको शव फेला
हेटौँडा। तिब्बतबाट आएको भोटेकोशी नदीको बाढीका कारण बागमती प्रदेशका विभिन्न जिल्लामा ५५ जनाको शव फेला परेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार बुधबार साँझ ६ बजेसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखामा ती शव फेला परेका हुन् ।
फेला परेका शवमध्ये २२ जना महिला, ३१ जना पुरुष र दुई जनाको पहिचान खुल्न बाँकी रहेको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार रसुवामा एक जना, नुवाकोटमा ११ जना, धादिङमा १६ जना, चितवनमा १८ जना र गोरखामा नौ जनाको शव फेला परेको छ ।
बाढी प्रभावित क्षेत्रबाट ९३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । रसुवाबाट ४३ जना, नुवाकोटबाट ४७ जना र धादिङबाट तीन जनाको उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये छ जनालाई काठमाडौँ, ३६ जनालाई धुन्चे र एक जना सामान्य घाइतेलाई नुवाकोटमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । एक जनाको शव काठमाडौँ लगिएको छ ।
बाढीपछि बेपत्ता तथा मृतकको खोजीका क्रममा धादिङमा हात र खुट्टा मात्र भएका दुईवटा तथा चितवनमा हातखुट्टा मात्र भएका १० वटा अङ्गसमेत फेला परेको प्रदेश प्रहरीले जनाएको छ । फेला परेका शवको मुचुल्का उठाउने काम भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक धमलाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ । फेला परेका शवको पहिचान तथा घटनाको विवरण सङ्कलन गर्ने कामसमेत भइरहेको प्रहरीले जनाएको छ ।
।