रौतहटका गौतम कुमार साहनीद्वारा आत्मदाहको प्रयास, कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर
रौतहट। गरुडा नगरपालिका-९ का २८ वर्षीय युवा गौतम कुमार साहनीले आज आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन्।
गरुडा नगरपालिका-९ का वडाध्यक्ष राजेश साहनीका अनुसार, डिप्रेसन (मानसिक अवसाद) बाट पीडित गौतम कुमारले आज बिहानै आफ्नो मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाउने प्रयास गरेका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) वसन्त गौतमले जानकारी दिएअनुसार, गौतम कुमारको घाँटीभन्दा तलको शरीरको करिब ३५ प्रतिशत भाग जलेको छ र उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा ती युवा मानसिक रोगबाट पीडित रहेको पाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
घटनालगत्तै गौतम कुमारका परिवारका सदस्यहरूले उनलाई गरुडास्थित ‘बेटर नेपाल अस्पताल’ पुर्याएका थिए।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार, त्यहाँ प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित ‘बर्न अस्पताल’ (अग्निपीडित उपचार केन्द्र) मा रिफर गरिएको थियो।
गौतम कुमारले गरुडा बजारस्थित झाँझ पुल नजिकै आफ्नी श्रीमती र तीन छोराहरूसँग मिलेर खाजा पसल सञ्चालन गर्दै आएका छन्।