एक्सक्लुसीभ

सर्वदलीय बैठकबाट विवाद टुङ्गिएसँगै वीरगन्जमा ‘कर्फ्यु’ हटाइयो

पर्सा । सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगन्जमा भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गराएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज यहाँ बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सहमति जुटाएसँगै सोमबारदेखि लगाइएको ‘कर्फ्यु’  पनि आज  ३ः३० बजेदेखि हटाइएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले अन्य मुलुक वा स्थानमा घटेका घटनालाई लिएर वीरगन्जमा प्रदर्शन तथा आन्दोलन नगर्ने प्रतिबद्धता गरेसँगै कर्फ्यु हटाउने निर्णय भएको जानकारी दिनु भयो ।

“यहाँका दुई समुदायबिच सहमति र यहाँको शान्तिसुरक्षाको अवस्था सहज बन्दै गएपछि कर्फ्यु हटाउने निर्णय गरेका हौँ,” उहाँले भन्नुभयो, “अब यहाँको जनजीवन सामान्यतर्फ उन्मुख भइरहेको छ ।”

सो बैठकले आन्दोलनरत पक्षले विरोध प्रदर्शन गर्नु अघि प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र पेस गर्न जोड दिने, तत्पश्चात् मात्र आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको बताइएको छ ।

“भविष्यमा हुन सक्ने धार्मिक, सामाजिक, सद्भाव विरुद्धका गतिविधिहरूलाई नियन्त्रण गर्न तथा आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्न जिल्लास्थित क्रियाशील राजनीतिक दलहरू एवं विभिन्न धार्मिक समुदायका अगुवाहरू रहने तपसिल बमोजिमको स्थायी सद्भाव संयन्त्र गठन गर्ने निर्णय भएको छ,” उहाँले भन्नु भयो ।

प्रजिअ दाहालका अनुसार सो स्थायी सद्भाव संयन्त्रमा हिन्दु समुदायका तर्फबाट रञ्जित साह, रञ्जन सिंह रहने छन् । त्यसैगरी, मुस्लिम समुदायका तर्फबाट  महमद महबुब अलि (शेरु)  र अलि असगर मदनी रहने छन् ।

सो सर्वपक्षीय तथा सर्वदलीय बैठकले अन्य धार्मिक समुदायबाट पनि आवश्यकता अनुसार प्रतिनिधित्व र जिल्लास्थित राजनीतिक दलहरूका तर्फबाट एक, एक जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।

त्यसैगरी, सोही संयन्त्रमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष तथा नागरिक समाजको प्रतिनिधि सदस्य रहने छन् ।

सो बैठकले सबै प्रकारका सञ्चारकर्मीहरूलाई समाचार सम्प्रेषण गर्नु पूर्व धार्मिक, सांस्कृतिक, सामाजिक सद्भावमा खलल नपुग्ने गरी सामाचार सम्प्रेषण गर्न अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

त्यसैगरी  धार्मिक, सांस्कृतिक, सामाजिक सद्भाव बिथोल्न दुरुत्साहन गर्ने समूह, आन्दोलनकारीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने बताइएको छ ।

साथै सबै पक्षले आ–आफ्नो, समूहका तर्फबाट भएका कमजोरीको मनन गर्दै आ–आफ्नो समुदायका व्यक्तिलाई अनुशासन र आत्मसंयम तथा सद्भाव कायम राख्न प्रतिबद्धता व्यक्त गर्ने निर्णय भएको छ । सो बैठकले विद्यमान परिस्थितिलाई सहज बनाउन सबैले आ–आफ्नो स्थानबाट सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्दै थप विरोध कार्यक्रमहरू नगर्ने पनि निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.