अर्थ

भोटेकोशी बाढी: एक हजारभन्दा बढी सवारीसाधनमा क्षति

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी सवारीसाधनमा क्षति पुगेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार बाढीमा परेर एक हजारभन्दा बढी सवारीसाधनमा क्षति पुगेको हो । महासङ्घका महासचिव डेकनाथ गौतमले करिब ६०० मालवाहक, ३०० यात्रुवाहक सवारीसाधन र ४०० भन्सारमा जाँचपासका लागि राखिएका सवारीसाधनमा क्षति पुगेको जानकारी दिनुभयो ।

“सामान लिनका लागि भन्सार नाकामा गएका, यात्रु लिएर रसुवा र गोसाईंकुण्ड गएका तथा भन्सारमा जाँचपासका लागि राखिएका एक हजार ३०० बढी सवारीसाधनमा क्षति पुगेको छ, निजी सवारीसाधनमा भएको क्षतिबारे यकिन गर्न सकिएको छैन,” महासचिव गौतमले भन्नुभयो ।

बाढीले चीनको केरुङ नाकामा सामान लिन गएका र भन्सार जाँचपासका लागि राखिएका सयौँ ट्रक, कन्टेनर, यात्रुवाहक बस, माइक्रोबस र नयाँ सवारीसाधनमा क्षति पुर्‍याएको महासङ्घले जनाएको छ । महासचिव गौतमले अर्को सूचना नभएसम्मका लागि प्रभावित क्षेत्रका सबै यातायात सेवा स्थगित गरिएको बताउनुभयो । उहाँले विपद्को  घडीमा तत्काल उद्धार र राहतका लागि सबै क्षेत्रसँग अपिल गर्नुभएको छ ।

महासङ्घले नेपाल सरकारसँग तत्काल सबै निकायहरू परिचालन गरी बेपत्ताको खोजी, घाइतेको उपचार र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । साथै, बाढी प्रभावित व्यवसायी र मजदुरलाई पुनः जीविकोपार्जनको वातावरण मिलाउन महासङ्घले सरकारको ध्यानाकर्षण गराएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्