एक्सक्लुसीभ

विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा

काठमाडौँ । नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षधरका सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्य समितिले विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा विवरण पेस गरेको छ ।

सभापति थापाको नेतृत्वमा नवनिर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरु आज आयोगको केन्द्रीय कार्यालय बहादुर भवन पुगी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम केन्द्रीय कार्य समितिका पदाधिकारी हेरफेर भएको विवरण पेस गरेका हुन् ।

विवरण पेस गर्दै सभापति थापाले विशेष महाधिवेशनले गरेका निर्णय, पारित गरेका दस्ताबेज र नवनिर्वाचित केन्द्रीय कार्य समितिको विवरण पेस गरिएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । विशेष महाधिवेशनले सभापतिसहित सिङ्गो केन्द्रीय कार्य समिति नै परिवर्तन गरिएको विवरण पेस गरिएको उहाँले बताउनुभयो ।

विवरण बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी फुटेको नभई विधानअनुसार विधिवत् भएको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्य समिति सर्वसम्मत रुपमा निर्वाचित गरेको जानकारी दिनुभयो । त्यही विवरण अद्यावधिक गर्न पार्टी केन्द्रीय कार्य समितिका पदाधिकारी र केन्द्रीय सदस्यहरु आयोग आएको उहाँले सुनाउनुभयो ।

थापा नेतृत्वको नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गुरुराज घिमिरेले आयोग आउनुअघि बसेको केन्द्रीय कार्य समितिको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनमा टिकट वितरण गर्ने प्रयोजनका लागि संसदीय समिति एवं बोर्ड गठन गर्ने निर्णय भएको बताउनुभयो । निर्वाचनका लागि पार्टीको घोषणापत्र मस्यौदा गर्न सभापति थापाको नेतृत्वमा अर्को समिति गठन भएको उहाँले बताउनुभयो ।

नवनिर्वाचित केन्द्रीय समितिले वरिष्ठ अधिवक्ता हरिहर दाहाल, वरिष्ठ अधिवक्ता एवं नेपाल बार एशोसियशनका पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता एवं एशोसियशनका अर्का पूर्व अध्यक्ष प्रेमबहादुर खड्कासहितका कानुन व्यवसायी लिएर आयोगमा आएको थियो ।

सभापति थापाले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई दोस्रो विशेष महाधिवेशनबाट पारित भएका नीति तथा कार्यक्रमलगायत दस्ताबेज र नव निर्वाचित केन्द्रीय कार्य समितिको विवरणलगायत कागजात पेस गर्नुभएको थियो ।

थापा नेतृत्वको नेपाली काँग्रेसले छिटो विवरण अद्यावधिक गर्न माग गरेको छ । आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापा नेतृत्वको कांग्रेसका नवनिर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरुले आगामी फागुन २१ गते हुने निर्वाचनका लगि मनोनयन दर्ता गर्ने समय नजिक आएकाले छिटो केन्द्रीय पदाधिकारीसहित केन्द्रीय सदस्यको विवरण अद्यावधिक गर्न माग गर्नुभएको हो ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार प्रत्यक्ष निर्वाचन हुने १६५ क्षेत्रका लागि माघ ६ गते मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.