एक्सक्लुसीभ

सरकारले निर्वाचनको वातावरण बनाएको छ : सञ्चारमन्त्री जगदीश खरेल

भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताउनुभएको छ ।

आज गुन्डुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सञ्चारकर्मीलाई भेटबारे जानकारी दिँदै उहाँले उक्त कुरा बताउनुभएको हो ।

मन्त्री खरेलले भन्नुभयो, “सरकार तोकिएकै दिन निर्वाचन गराउन पूर्णरूपमा तयारी गरेको छ । निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्थापन सुदृढ बनाउने छ । निर्वाचनको सबै तयारी तीव्र रूपमा भइरहेको सन्दर्भमा निर्वाचनकै विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि आज छलफल भयो, अहिले एमाले अध्यक्ष केपी ओलीसँग पनि छलफल भयो, आजै नेकपाका अध्यक्ष प्रचण्डसँग पनि छलफल हुँदैछ । सरकार निर्वाचनको वातावरण बनाउन प्रतिबद्ध छ ।”

अध्यक्ष ओलीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सरकारले सुरक्षालगायत सबै वातावरण सहज बनाउनुपर्नेमा जोड दिनुभएको मन्त्री खरेलले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीसँग शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको वातावरण सुनिश्चितताको कुरा भएको जानकारी दिँदै राजनीतिक संवाद समितिका सदस्यसमेत रहनुभएका मन्त्री खरेलले निर्धक्क भएर उम्मेदवारलाई जनताको घरदैलोमा मत माग्न जाने र मतदातालाई निर्धक्क भएर मतदान गर्न सक्नेगरी सुरक्षा व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उहाँलाई अवगत गराएको बताउनुभयो ।

सरकारले निर्वाचनको वातावरण बनाएकाले ढुक्कसँग चुनावमा सहभागी हुन आफूले आग्रह गरेको जानकारी दिँदै मन्त्री खरेलले भन्नुभयो, “एमाले चुनावको पक्षमा छ, एमाले निर्वाचनबाट भाग्दैन भन्नुभएको छ, सुरक्षा चुनौती छ, वातावरण बनाउनुपर्‍याे भन्ने जुन कुरा उहाँले राख्नुभयो ती सबै सरकारले सम्बोधन गर्छ । सरकारले चुनावको वातावरण बनाउँछ ।”

एमाले अध्यक्ष ओलीमाथि लगाइएको स्थान हदबारे पुनर्विचार गर्ने कुरामा पनि सरकार सकारात्मक रहेको उहाँले बताउनुभयो ।

सञ्चारमन्त्री खरेलले सरकारको लक्ष्य नै निर्वाचन भएकाले यो लक्ष्य प्राप्तिको लागि कुनै अल्झन्, अप्ठ्यारा, चुनौतीहरू भए त्यसलाई सहज बनाउँदै सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने सम्पूर्ण काम गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभयाे । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.