इमिग्रेशन अपडेट

नेपालमा अध्यनरत विदेशी विद्यार्थीको गतिविधि संकास्पद

काठमाडौँ । अध्ययन भिसा (प्रवेशाज्ञा) का नाममा नेपाल आएका विदेशी विद्यार्थी गैरकानुनी कार्यमा संलग्न रहेको पाइएको छ । गैरकानुनी गतिविधिमा संलग्न भएको पाइएपछि अध्यागमन विभागले थुप्रै विदेशीलाई घर फर्काइदिएको छ भने शुल्क असुल्ने नाममा मात्रै विदेशी विद्यार्थीलाई भर्ना नगर्न शैक्षिक संस्थालाई सचेत गराएको छ ।

नेपालमा अध्ययन गर्न आएको भनी कागजपत्र पेस गरेपछि विदेशी नागरिकले सहजै भिसा पाउने गरेका छन् । यस्ता विद्यार्थीमध्ये अधिकांशले नेपालका विभिन्न विश्वविद्यालय तथा शिक्षण संस्थामा उच्च शिक्षा एवं नेपालको भाषा, संस्कृति, कला, साहित्य र सङ्गीतलगायतका विभिन्न विधामा अध्ययन गर्न भनी भर्ना गर्ने गरेका छन् ।

तर विद्यार्थीको नाममा भर्ना भए पनि सामान बेच्ने, नेपालीसँग मिलेर गोप्य रूपमा होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्ने तथा अन्य गैरकानुनी क्रियाकलापमा पनि लाग्ने गरेको भेटिएको छ । विभागका प्रवक्ता टीकाराम ढकालले विदेशी विद्यार्थीमध्ये धेरैजसो नेपाली भाषा अध्ययनका लागि विश्वभाषा क्याम्पस, संस्कृत अध्ययनका लागि वाल्मीकि विद्यापीठमा भर्ना हुने गरेको देखिएको जानकारी दिनुभयो । त्यसबाहेक उपत्यकाबाहिर रहेका विभिन्न संस्थामा सिपमूलक तालिमका लागि पनि भर्ना हुने गरेको अनुसन्धानबाट देखिएको उहाँले बताउनुभयो ।

यसरी अध्ययन गर्न चाहने विदेशी नागरिकले आफू भर्ना हुने शैक्षिक संस्थाको सिफारिससहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कागजपत्र पेस गर्नु पर्छ । उक्त कागजपत्र अध्ययन गरेपछि मन्त्रालयले अध्ययन भिसा उपलब्ध गराउन अध्यागमन विभागलाई सिफारिस गर्ने गर्छ तर यसरी आउने विद्यार्थीमध्ये केही विद्यार्थीलाई कतिपय शैक्षिक संस्थाले आफ्नो आम्दानीको दृष्टिकोणले मात्र विद्यार्थी भर्ना गर्ने गरेको पाइएको विभागले जनाएको छ ।

विभागका अनुसार आफूहरूले गरेको अनुगमनका क्रममा कतिपय शैक्षिक संस्थाले अध्ययन कार्यमा नियमित रूपमा संलग्न नहुने पूर्वजानकारी हुँदाहुँदै पनि विदेशी विद्यार्थीलाई भर्ना गर्ने गरेको पाइएको छ । साथै कतिपय शैक्षिक संस्थामा भर्ना भएका विद्यार्थी पढाइ नसकिँदै बिचैमा छोडेर गएको पनि अध्ययनबाट देखिएको विभागले जनाएको छ ।

“यसरी अध्ययन गर्न चाहने विदेशी विद्यार्थीलाई प्रोत्साहित र सहजीकरण गर्ने विषयमा अध्यागमन विभाग प्रतिबद्ध छ,” ढकालले भन्नुभयो, “लामो अवधिको नेपाल बसाइका लागि वैकल्पिक उपायका रूपमा अध्ययन भिसा लिन चाहने र कानुनले बर्जित गरेका क्रियाकलापमा संलग्न भएका विदेशीलाई समेत अध्ययन भिसा सिफारिस गर्ने गरेको पाइएको छ ।” नेपालमा अध्ययन भिसा प्राप्त गरेका केही विदेशी नागरिकले नियमित रूपमा कक्षामा सहभागी नभएको, अध्ययन भिसाको अवधि थप गर्न नक्कली कागजात पेस गरेको, अध्ययनको कोर्ष पूरा भएपछि शैक्षिक प्रमाणपत्रसमेत पेस गर्न नसकेको पनि अनुसन्धानका क्रममा पाइएको थियो । “कतिपय विदेशी विद्यार्थी गैरकानुनी कार्यमा संलग्न रहेको देखिँदासमेत सम्बन्धित शैक्षिक संस्थाले विभाग तथा स्थानीय प्रशासनलाई सूचना दिने गरेको पनि पाइएन,” ढकालले भन्नुभयो ।

विश्वभाषा क्याम्पसमा नेपाली भाषा पढ्न भनेर भर्ना भएको एक जना फ्रान्सेली नागरिकले ठमेलमा बेकरी तथा ललितपुरमा रैथाने होटल सञ्चालन गरेर बसेको पनि ढकालले जानकारी दिनुभयो । त्यस्तै केही समयअघि यसरी नै नेपालमा लुकिछिपी बसिरहेका चार जना चिनियाँ नागरिकलाई फिर्ता पठाइएको उहाँले जानकारी दिनुभयो ।

एउटा प्रयोजनका लागि भिसा लिएर अर्कै काममा लाग्दा मुलुकको राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुनुका साथै अन्तर्राष्ट्रिय जगत्मा मुलुकको छवि धुमिल हुने ढकालले बताउनुभयो । विदेशी विद्यार्थीलाई भिसा मात्र उपलब्ध गराउन तथा आम्दानी प्रयोजनका लागि मात्र शैक्षिक संस्थाले भर्ना गर्न नहुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो संस्थामा अध्ययनरत विद्यार्थी नियमित रूपमा पठनपाठनमा संलग्न भए/नभएको यकिन गरी मात्र भिसा सिफारिस गर्न र पठनपाठन भन्दाबाहेक अन्य शङ्कास्पद गतिविधिमा संलग्न भएको जानकारी आएमा तत्काल अध्यागमन विभाग वा स्थानीय प्रशासनलाई सूचना दिन ७७ जिल्लाका अनुगमन समितिलाई भनेका छौँ ।”

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.