एक्सक्लुसीभ

‘भ्रष्टाचारविरुद्धको कारबाही र सुशासनका एजेन्डामा सरकार अगाडि बढ्नुपर्छ’

काठमाडौँ । जेनजी प्रतिनिधिले चुनावसँगै सरकार भ्रष्टाचारविरुद्धको कारबाही र सुशासनका एजेन्डामासँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिको छलफलमा चुनावसँगै भ्रष्टाचारविरुद्धको कारबाही र सुशासनमा जोड दिएका हुन्।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार जेनजी प्रतिनिधिले चुनाव चाहिएको भए पनि चुनाव चुनाव भनेर भ्रष्टाचारविरुद्धको कारबाही र सुशासनको एजेन्डा बिर्सनु नहुने बताएका हुन्।

‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र हुँदैन। हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो। ‘भ्रष्टाचारविरुद्धको कारबाही हो’, जेनजी प्रतिनिधिको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको निजी सचिवालयले भनेको छ, ‘यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ।’

छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले संवादको सुरुवात भएको भन्दै सबै विचारको आदानप्रदान गर्न आग्रह गर्नुभएको छ। छलफलमा प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइ दिँदैन। एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ। हामीले सुरुवात गरेका छौँ। आआफ्ना विचार राख्न म खुला गर्छु।’

पहिलो पटक भएको त्रिपक्षीय छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायत सहभागी हुनुहुन्थ्यो ।

छलफलमा जेनजी समूहबाट १३ जना प्रतिनिधि सहभागी भए । राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा (एमाले) का महेश बर्तौला, क्षितिज थेबे, नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी सहभागी हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ, नेकपा एकीकृत समाजवादीको तर्फबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला सहभागी हुनुहुन्थ्यो ।

छलफलमा जेनजी प्रतिनिधिका रुपमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपार्जन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल, राजन रानामगर सहभागी हुनुभयो ।

यो समाचार तयार गर्दासम्म बैठक जारी छ र दलहरूका तर्फबाट एकसरो बोल्ने क्रम सकिएको छ ।

यसअघि कात्तिक ४ गते प्रधानन्त्री कार्कीको आह्वानमा सरकार र राजनीतिक दलबीच छलफल भएको थियो।त्यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्की र जेनजी समूहबीच छलफल भइसकेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.