एक्सक्लुसीभ

प्रधानमन्त्रीलाई कलाकारहरूको सुझाव– ‘कुसूचना र प्रोपोगान्डाबाट नडराई अघि बढ्नुहोस्’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई मुलुकका प्रतिष्ठित कलाकारहरूले कुसूचना र प्रोपोगान्डाबाट नडराई आफ्नो संकल्पअनुसार अघि बढ्न सुझाव दिनुभएको छ।

समकालीन नेपाली सिनेमाका चर्चित ९ जना कलाकारले प्रधानमन्त्री कार्कीलाई बुधबार बालुवाटारमा भेटी भ्रष्टाचारविरुद्धको कारबाही र आगामी निर्वाचनलाई अर्जुन दृष्टि बनाएर अघि बढ्न भन्नुभएको हो।

‘सरकारसँग हामी केही माग्न आएका होइनौँ,’ उहाँहरूको भनाइ थियो, ‘यो देश रहेमा माग्ने कुरा माग्दै गरौँला। पहिला यो देश बचोस्। देश बस्नलायक होस्। यसका लागि सरकारले दह्रो खुट्टा टेकेर अघि बढोस्। हामी साथमा छौँ।’

निष्कलंक छवि र मुलुकको पहिलो महिला प्रधानन्यायाधीशका रूपमा इतिहास कायम गरिसकेर घरमा आराम गरिरहेको अवस्थामा यो कठिन परिस्थिति सम्हाल्न आउनु भएकोमा प्रधानमन्त्री कार्कीप्रति उहाँहरूले कृतज्ञता पनि प्रकट गर्नुभयो।

‘अब के पो हुन्छ भनेर हामीलाई डर लागिरहेका बेला सम्हाल्न आमा आउनुभएको छ,’ अभिनेतृ ऋचा शर्माले भन्नुभयो, ‘हामीलाई ढुक्क भएको छ। यहाँको सरल, सादगीपूर्ण र स्पष्टवक्ता शैलीका कारण पनि भरोसा जागेको छ। अब मुलुक ठिक दिशामा अघि बढ्नेछ। यहाँहरू अविचलित रही अघि बढ्नुहोस्, हामी साथमा हामी छौँ।’

यो परिवर्तन नरुचाएका तत्वहरुले गृहमन्त्री ओमप्रकाश अर्यालसहित यो सरकारलाई विवादमा तान्न खोजेको र त्यसका लागि सामाजिक सञ्जालमा दुष्प्रचार भइहरेकोमा पनि कलाकारहरूले चिन्ता व्यक्त गर्नुभयो। यस्तो दुष्प्रचार र प्रोपोगान्डाप्रति सचेत रही सरकारले गरेका कामकारबाहीको विवरण नियमित सार्वजनिक गर्नुपर्ने उहाँहरूको आग्रह थियो।

अभिनेता विपिन कार्कीले भन्नुभयो, ‘गृहमन्त्रीज्यूका केही दिनका अभिव्यक्तिले सरकार डराएको छैन भन्ने अनुभूति हामीलाई भएको छ। सरकारप्रति थप विश्वास र आशा जागेको छ। अझै सरकार दरिलो रहेछ भन्ने अनुभूति गर्न पाऊँ।’

गृहमन्त्रीले कानुनको शासनका पक्षमा देखाएको अडान र विपद् व्यवस्थापनमा खेलेको भूमिकाको सह्राहना गर्दैै उहाँहरूले देशमा सरकार छ भन्ने कुराको अनुभूति भएको बताउनुभयो।

‘सरकारले नबोलेका कारण पनि चर्को स्वरले कराउने खराब र दूषित तत्वहरू सामाजिक सञ्जालमा हाबी भएका छन्,’ अभिनेता निश्चल बस्नेतले भन्नुभयो, ‘आफू सही धरातलमा छु भन्ने लागेको छ भने कसैसँग डराउनुपर्दैन। ढुक्कसँग अघि बढ्नुहोस्। तपाईँको पक्षमा हामी छौँ। देशलाई थप अफ्ठ्यारो आउन नदिन यतिखेर राष्ट्रिय एकताको खाँचो छ। सरकारलाई सहयोगको खाँचो छ। र, यतिखेर सकारात्मकताको खाँचो छ।’

विभिन्न प्रकारका दागी र भ्रष्टाचारका आरोपीहरूले के भन्छन् भन्ने कुरालाई महत्व नदिन पनि उहाँहरूको आग्रह थियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.