खेलकुद

एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएकोमा लुम्बिनीले १६.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो ।

लुम्बिनीका लागि विकेटकिपर निकोलस डिकवेलाले ३७ बल खेल्दै ७ चौका र २ छक्का मदतमा अविजित ५९ रन जोड्न सफल भए भने कप्तान रोहित पौडेलले २८ बल खेल्दै २१ रन बनाए ।

सुदूरपश्चिमका थरिन्दु रत्नायकेले २ तथा स्कट कुगेलेइन र हेमन्त धामीले १/१ विकेट लिए ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ५१ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५२ रनको पारी खेलेका हुन् । जारी एनपिएलमा कप्तान ऐरीको यो तेस्रो अर्धशतक हो ।

लुम्बिनीका लागि ट्रम्पलम्यानले ४ ओभरमा १२ रन मात्र खर्चेर २ विकेट लिए । शेर मल्लले पनि २ विकेट लिए । किशोर महतो र अभिशेष गौतमले १र१ विकेट लिए । सुदूरपश्चिमका दुई खेलाडी रनआउट भए ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । आजको जितसँगै लुम्बिनीले फाइनलमा स्थान सुरक्षित बनाएको छ । आजको खेलमा पराजित भएपनि सुदूरपश्चिमको फाइनल पुग्ने आशा भने जीवित नै छ । सुदूरपश्चिमले फाइनल प्रवेशका लागि एलिमिनेटर खेलको विजेतासँग खेल्ने छ ।

दोस्रो संस्करणको एनपिएलको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको थियो । यस्तै, पहिलो संस्करणमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्