बुद्ध एयरको टायर पञ्चर, राजविराजमा यात्रु अलपत्र
राजविराज । बुद्ध एयरको जहाजको टायर पञ्चर भएपछि सोमबार राजविराज विमानस्थलबाट काठमाडौँ जाने यात्रु घण्टौँसम्म विमानस्थलमै रोकिएका छन् । निर्धारित समयभन्दा साढे तीन घण्टा ढिलो राजविराज आइपुगेको जहाज अवतरणपछि पञ्चर हुँदा यात्रु थप समस्यामा परेका हुन् ।
सोमबार दिउँसो २ बजे राजविराज आइपुग्नुपर्ने जहाज काठमाडौँ विमानस्थलको हवाई चाप र प्रतिकूल मौसमका कारण साँझ ५ः३० बजे मात्रै राजविराज पुगेको थियो । यात्रु ओर्लिएपछि जहाजको टायर पञ्चर भएको जानकारी गराइएपछि काठमाडौँ जान प्रतीक्षारत यात्रु अन्योलमा परेका छन ।
विमानस्थलमा घण्टौँदेखि प्रतीक्षारत यात्रुहरूले उडान अनिश्चित हुँदा आफ्नो व्यक्तिगत तथा व्यावसायिक काम प्रभावित हुने भन्दै आक्रोश व्यक्त गरेका छन् । केही यात्रुको विदेश जाने अन्तर्राष्ट्रिय उडानको टिकट रहेकाले समयमै काठमाडौँ पुग्न नसक्दा ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आएको गुनासो गरेका छन् ।
एक यात्रुले राति १० बजे विदेश जाने उडानको टिकट रहेकाले समयमै काठमाडौँ पुग्न नसके क्षतिपूर्तिको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरेका छन । त्यस्तै, भोलिपल्टदेखि परीक्षा रहेकी एक छात्राले उडान ढिलाइका कारण आफ्नो परीक्षा प्रभावित हुने चिन्ता व्यक्त गरेका छन् ।
दिउँसो १ बजेदेखि नै विमानस्थल पुगेका यात्रु साँझसम्म उडानको निश्चित समय नपाउँदा भोक र प्यासले समेत समस्यामा परेको बताएका छन् । लामो प्रतीक्षाका कारण विमानस्थलमा यात्रुहरू असन्तुष्ट र आक्रोशित देखिएका छन् ।
बुद्ध एयर राजविराजका वरिष्ठ अधिकृत सन्दीप खवासका अनुसार जहाजको पञ्चर भएको टायर मर्मतका लागि विराटनगरबाट अर्को जहाजमार्फत प्राविधिक टोली आइसकेको छ । प्राविधिक टोलीले टायर मर्मत गर्न करिब एक घण्टा लाग्ने र त्यसपछि जहाज काठमाडौँका लागि उडान भर्ने उहाँले जानकारी दिनुभयो ।
सोमबार राजविराजबाट काठमाडौँ जाने ६९ जना यात्रुले टिकट काटेका थिए । जहाज ढिलो भएपछि आठदेखि १० जनाले टिकट रद्द गराएको र पाँच जनाले मंगलबारका लागि टिकट सारेको खवासले बताउनुभयो । बाँकी ५८ जना यात्रुलाई लिएर जहाज काठमाडौँ उड्ने उहाँको भनाइ छ ।
जहाजको प्राविधिक समस्या समाधान र उडान पुनः सञ्चालनका लागि यात्रुहरू लामो समयदेखि प्रतीक्षामा रहेका छन् ।
जहाजमा प्राविधिक समस्या आउनु एउटा पक्ष भए पनि त्यसबाट प्रभावित यात्रुलाई समयमै स्पष्ट जानकारी दिने, खानपान तथा प्रतीक्षाको उचित व्यवस्थापन गर्ने र सम्भावित आर्थिक क्षतिबारे जवाफदेही हुने दायित्व विमान सेवा कम्पनीकै हो । घण्टौँसम्म यात्रुलाई अनिश्चिततामा राखेर आश्वासन मात्रै दिनु यात्रुमाथिको अन्याय हो भन्ने गुनासो यात्रुहरूले गरेका छन् ।