अर्थ

भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

तनहुँ।तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिरबाट आयात गरिने फूलको विकल्प तयार हुँदै गएको छ । उत्पादन भएको फूललाई लामो समयसम्म ताजा राख्ने भण्डारण सुविधाको अभावले भने किसानलाई चिन्तित बनाएको छ ।

भिमाद नगरपालिका–५ र ६ का विभिन्न स्थानमा किसान तिहारलाई लक्षित गरी सयपत्री फूलखेतीमा जुटेका छन् । स्थानीय माटोमा फुलेका पहेँला र सुन्तला रङका सयपत्रीले उनीहरूका बारीमात्रै सजाएका छैनन्, स्थानीय उत्पादनबाटै चाडपर्वको माग पूरा गर्न सकिने सम्भावना देखाएका छन् ।

भिमाद नगरपालिका–६ अन्तर्गत बाग्टारको बाँघकुनामा रेनु थापा, सिमबोट जलौदीमा जानुका थापा र बद्रिनाथ गैह्रे तथा ऋषिङ पाटनमा बालकृष्ण गैह्रेले सयपत्री फूलखेती गर्नुभएको छ । उहाँहरूले दुई–दुई रोपनी क्षेत्रफलमा फूलखेती गर्नुभएको हो ।

स्थानीय किसानलाई फूलखेतीतर्फ आकर्षित गर्न भिमाद नगरपालिकाले प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको छ । नगरपालिकाको कृषि विकास शाखामार्फत प्राप्त सहयोगले किसानलाई फूलखेती विस्तार गर्न प्रोत्साहन मिलेको कृषक रेनु थापाले बताउनुभयो ।

स्थानीयस्तरमा उत्पादन भएको फूलको प्रयोग बढाउन सके बाहिरबाट आयात हुने फूलमा निर्भरता घट्नुका साथै स्थानीय किसानको आम्दानी बढाउन सकिने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

फूलखेतीमा आकर्षण बढे पनि उत्पादित फूलको व्यवस्थापन भने चुनौतीपूर्ण बन्दै गएको किसान बालकृष्ण गैह्रेले बताउनुभयो । चाडपर्वलाई लक्षित गरी उत्पादन गरिएको फूल समयमै बिक्री हुन नसके खेर जाने जोखिम हुने र फूल टिप्ने समय नजिकिँदै जाँदा त्यसलाई ताजा राख्ने उचित व्यवस्था नहुँदा लगानी र मिहिनेत खेर जाने चिन्ता थपिएको उहाँको भनाइ छ ।

सयपत्री फूल लामो समयसम्म ताजा राख्न आवश्यक चिस्यानयुक्त भण्डारण सुविधा नहुँदा बजारमा माग र आपूर्तिबीचको तालमेल मिलाउन कठिन हुन भएको किसान बद्रीनाथ गैह्रेले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ उत्पादन भएका सयपत्री फूललाई स्थानीय बजारमा प्राथमिकता दिनसके किसानको मिहिनेतको सम्मान हुनुका साथै आगामी वर्षमा थप क्षेत्रफलमा फूलखेती गर्न प्रेरणा मिल्नेछ ।”

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्