काठमाडौं गोर्खाज पनि एनएफएलमा
काठमाडौं। नेपाली खेलकुदमा लगानी र सहकार्य विस्तार गर्ने उद्देश्यसहित धनगढी एफसी र काठमाडौं स्पोट्र्स डेभलपमेन्ट भेन्चर्स प्रालिबीच साझेदारी भएको छ।
दुई संस्थाको सहकार्यमा फुटबल, क्रिकेटसहित अन्य खेलकुद गतिविधि सञ्चालन गर्ने उद्देश्यले सुदूरपश्चिम स्पोट्र्स भेन्चर्स कम्पनी स्थापना गरिएको छ।
नयाँ कम्पनीमा धनगढी एफसीका सञ्चालक सुवास शाही र काठमाडौं स्पोट्र्स डेभलपमेन्ट भेन्चर्सको समान लगानी रहनेछ । सम्झौताअनुसार डा. उपेन्द्र महतो नयाँ कम्पनीको अध्यक्ष, सुवास शाही सञ्चालक र अनुभव स्वाँर सिरोहिया कार्यकारी निर्देशक रहनेछन्। कम्पनीको सञ्चालक समितिमा अन्य सदस्य पनि थप्दै जाने जनाइएको छ।
काठमाडौं स्पोट्र्स डेभलपमेन्ट भेन्चर्सको टोली काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा प्रतिस्पर्धा गर्दै आएको छ। यसमा कान्तिपुर पब्लिकेसन, डा. उपेन्द्र महतो र याक एन्ड यति होटेल साझेदार छन्। यस साझेदारीसँगै क्रिकेटमा लगानी गरिरहेको संस्थाले फुटबलसहित अन्य खेलकुद क्षेत्रमा समेत आफ्नो संलग्नता विस्तार गर्न लागेको हो।
नयाँ कम्पनीअन्तर्गत धनगढी एफसीले हालै घोषणा भएको नेपाल फुटबल लिगमा सहभागिता जनाउनेछ। यसका साथै ग्रासरुट फुटबल र महिला फुटबलको विकासका लागि पनि लगानी गर्ने योजना बनाइएको छ।
छ वर्षअघि स्थापना भएको धनगढी एफसीले फ्रेन्चाइज मोडलमा सञ्चालित नेपाल सुपर लिग (एनएसएल) का तीन संस्करणमा प्रतिस्पर्धा गरिसकेको छ। गो ड्रिमर्स कम्पनीको स्वामित्वमा रहेको क्लबले पहिलो र दोस्रो संस्करणमा फाइनल खेलेको थियो भने तेस्रो संस्करणमा प्लेअफसम्मको यात्रा तय गरेको थियो।
सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै आएको धनगढी एफसीले फुटबलमार्फत यस क्षेत्रलाई राष्ट्रिय खेलकुदसँग जोड्ने प्रयास गर्दै आएको छ। क्लबका अध्यक्ष तथा सञ्चालक सुवास शाहीले विभिन्न साझेदारसँग सहकार्य गर्दै क्लबको गतिविधि विस्तार गर्दै आएका छन्।
शाहीले नयाँ साझेदारीलाई नेपाली फुटबलमा लगानी भित्र्याउने सकारात्मक कदमका रूपमा व्याख्या गरेका छन्।
‘अहिलेको अवस्थामा लगानी भित्रिनुले नेपाली फुटबलमा ठूलो सन्देश जानेछ। व्यक्तिगत रूपमा मैले यसलाई निकै सकारात्मक रूपमा लिएको छु। काठमाडौं स्पोट्र्स डेभलपमेन्ट भेन्चर्सलाई धनगढी एफसीमा स्वागत गर्न चाहन्छु। यसले नेपाली फुटबलमा केही गर्न सकिन्छ भन्ने देखाएको छ,’ उनले भने।
यस्ता सहकार्यले अन्य क्लबका लागि पनि लगानीका ढोका खोल्ने विश्वास व्यक्त गर्दै शाहीले यसबाट सुदूरपश्चिमको पर्यटनलगायत अन्य क्षेत्रको विकासमा समेत सहयोग पुग्ने बताए।
काठमाडौं स्पोट्र्स डेभलपमेन्ट भेन्चर्सका तर्फबाट नयाँ साझेदारीमा जोडिएका अनुभव स्वाँर सिरोहियाले क्रिकेटमा गर्दै आएको लगानीलाई अन्य खेलकुदमा विस्तार गर्ने उद्देश्यले धनगढी एफसीसँग सहकार्य गरिएको बताए।
‘हामीले काठमाडौं स्पोट्र्स डेभलपमेन्ट भेन्चर्स प्रालिमार्फत क्रिकेटमा ठूलो लगानी गर्दै आएका छौं। यसलाई अन्य खेलकुदमा विस्तार गर्ने उद्देश्यले धनगढी एफसीमार्फत सुदूरपश्चिम स्पोट्र्स भेन्चर्समा जोडिएका हौँ। नेपालको लोकप्रिय खेल फुटबलसँग आबद्ध हुनु हाम्रा लागि ठूलो अर्थ राख्छ। नेपाली फुटबललाई अझ लोकप्रिय बनाउने उद्देश्यका साथ हामी आएका हौं,’ उनले भने।