राजनीति

मधेशमा नयाँ सत्ता समीकरणको कसरत

महोत्तरी । मधेश प्रदेशमा नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सत्ता समीकरण निर्माणको कसरत तीव्र बनेको छ । वर्तमान सरकार अल्पमतमा परेपछि एमाले, जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र जनमत पार्टीबिच नयाँ गठबन्धन बनाएर सरकार गठन गर्ने विषयमा छलफल अघि बढेको हो ।

तीनै दलका नेताहरूले नयाँ सरकार गठनका विषयमा संवाद भइरहेको बताएका छन् । यद्यपि, गठबन्धनको औपचारिक सहमति, मुख्यमन्त्रीको चयन तथा मन्त्रालय बाँडफाँडबारे अन्तिम निर्णय भइसकेको छैन । प्रदेशसभाको अङ्कगणितले नयाँ सरकार गठनका लागि अनुकूल अवस्था देखाएपनि नेतृत्वको विषयमा सहमति जुटाउन तीन दलका लागि मुख्य चुनौती बनेको छ ।

नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको वर्तमान सरकारबाट बाहिरिएको एमालेले जसपा नेपाल र जनमत पार्टीसँग सहकार्य गरेर नयाँ सरकार गठनको गृहकार्य अघि बढाएको हो ।

एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले सरकारमा सहभागी हुँदा भएका सहमति कार्यान्वयन नभएको र सरकारको कामप्रति जनस्तरमा गुनासा बढेको भन्दै समर्थन फिर्ता लिएको बताउनुभयो ।

उहाँका अनुसार एमाले सरकारमा सहभागी भएको चार–पाँच महिना बित्दा पनि सहमति कार्यान्वयन नभएपछि सरकारबाट बाहिरिने निर्णय गरिएको हो । सरकारका कामबाट जनताले अपेक्षित अनुभूति गर्न नसकेको विषयलाई पनि समर्थन फिर्ता लिनुको कारणका रूपमा उहाँले प्रस्तुत गर्नुभयो ।

“सरकारमा सहभागी हुँदा भएका सहमति कार्यान्वयन भएनन् । जनताले पनि सरकारको कामको अनुभूति गर्न नसकेको गुनासो गरिरहेका छन्,” यादवले भन्नुभयो, “अब प्रदेशमा राजनीतिक विकल्प निर्माण गर्न अन्य दलसँग छलफल अघि बढाइएको छ ।”

एमाले नेता यादवका अनुसार नयाँ सरकार गठनका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबिच केन्द्रमा एक चरणको छलफल भइसकेको छ । उक्त छलफल सकारात्मक रहेको उहाँको दाबी छ । प्रदेश तहमा पनि जसपा नेपाल र जनमत पार्टीसँग संवाद भइरहेको उहाँले जानकारी दिनुभयो ।

तीन दलबिच सहमति जुटाउने प्रयास भइरहेको भए पनि विगतमा सहमति गरेर पछि हट्ने प्रवृत्तिका कारण यसपटक ठोस समझदारी नबन्दासम्म निष्कर्षमा पुगिएको भन्न नसकिने उहाँको भनाइ छ । चाडपर्व सकिएपछि छलफललाई निष्कर्षमा पुर्‍याउने गरी पहल गरिने उहाँले बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्