मनोरंजन

चित्लाङमा कार्तिक नाच र स्वच्छन्द भैरवजात्रा

मकवानपुर । मकवानपुरको ऐतिहासिक एवं पर्यटकीय स्थल चित्लाङमा आइतबार कार्तिक नाच तथा स्वच्छन्द भैरवजात्रा सुरु भएको छ । हरेक वर्ष झैँ कोजाग्रत पूर्णिमाको अघिल्लो राति भैरवलाई बोका र कुखुराको बलि तथा अन्डा चढाएर पूजाआजा गरी औपचारिक रूपमा भैरवजात्रा सुरु गरिन्छ ।

थाहा नगरपालिका–९, चित्लाङस्थित घरमा रहेको स्वच्छन्द भैरवको मूर्तिलाई रथयात्रा गर्दै मन्दिरमा पु-याएर स्वच्छन्द भैरवको पूजाआजा गरेपछि आइतबार रातिबाट स्वच्छन्द भैरवजात्रा सुरु भएको स्थानीय राजन बलामीले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक वर्ष कोजाग्रत पूर्णिमाको अघिल्लो दिन रातिबाट गुठियारले भैरवको पूजाआजा गरी जात्रा सुरु गर्ने प्रचलन छ । भैरवको मानन्धर परिवारका गुठियारले पूजाआजा सुरु गर्ने र देउला समुदायबाट बलि दिने गरिन्छ । यसअघि हाँस, राँगोलगायतका पञ्चबलि दिने प्रचलन रहेकोमा कटौती गरी कुखुरा र बोकाको मात्र बलि दिन थालिएको छ । यसअघि गुभाजुले तान्त्रिक विधिबाट राँगा, हाँस, बोका, थुम्बा र कुखुराको बलि दिने प्रचलन थियो ।

कोजाग्रत पूर्णिमाका दिन सोमबार गुठियारले घरैपिच्छेबाट आएर भैरवको पूजाआजा गर्ने प्रचलन रहेको स्थानीय बलामीले बताउनुभयो । उहाँका अनुसार पूजा विसर्जन गरेर भैरवको मूर्तिलाई स्थानीयवासीको घरमा राखेपछि भैरवजात्रा सम्पन्न हुन्छ । स्थानीयले आफ्नो क्षमता अनुसार भैरवलाई बोका, कुखुरालगायतका पशुपन्छीको बलि दिन्छन् । स्वच्छन्द भैरवजात्रा सम्पन्न गरी घरमा खाना खाएर आएपछि हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन रातिबाट कार्तिक नाच सुरु गरिन्छ । पहिलो दिन अर्थात् सोमबार राति अशोक चैत्य डबलीमा तथा मङ्गलबार र बुधबार राति चित्लाङको मुख्य डबलीमा कार्तिक नाच प्रदर्शन गरिने छ ।

पौराणिक कथामा आधारित हुने मल्लकालीन कार्तिक नाचमा गणेश, भैरव, वाराही, कुमारी र महालक्ष्मी गरी पाँच देवीदेवताको नाच देखाइन्छ । यो वर्ष भने नौबर्से नाच भएकाले गणेश, भैरव, वाराही, कुमारी, महालक्ष्मीलगायत नौ वटा देवीदेवताको नाच देखाइने छ । यो वर्ष थप दुई खटमा नाच देखाउने तयारी गरिएको बलामीले बताउनुभयो । चित्लाङका अन्य टोलबाट माग भएमा लगेर देखाइने उहाँको भनाइ छ ।

रातभर लाग्ने नाच हेर्न थाहा नगरसँगै वरपरका गाउँ, काठमाडौँ, ललितपुरलगायतका स्थानबाट दर्शनार्थी आउने र जाग्राम बस्ने गरेका पाइन्छ । नाचमा प्रयोग हुने संवाद र सिलोक नेपाली, नेवारी, हिन्दी र संस्कृत भाषामा अभिव्यक्त गर्ने गरिन्छ । नौबर्से नाच भएकाले तिहारको भाइटीकाको भोलिपल्ट मात्र यो वर्षको कार्तिक नाच सम्पन्न गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मानन्धरलाई गुठी चलाउने जिम्मा जङ्गबहादुर राणाको समयमा दिइएको रहेछ । बलामी समुदायले पूजाआजा र जात्रामा सहयोग गर्छन् ।” चित्लाङ क्षेत्रका बासिन्दाले परम्परादेखि नै स्वच्छन्द भैरवलाई मूल देवताका रूपमा पुज्दै आएका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्