दिवङ्गतको सम्झनामा गाईजात्रा
काठमाडौँ। दिवङ्गतको सम्झनामा गाईलाई अथवा परिवारका सदस्यलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराई देशभर गाईजात्रा पर्व मनाइएको छ ।
यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास संस्कृतिविद् डा. चुन्दा वज्राचार्यले जानकारी दिनुभयो ।
उहाँले आमाको निधन भएको छ भने दुध दान दिनु पर्छ भने बुवाको निधन भएको छ भने रोटी तथा केराउ दान दिनुपर्ने बताउनुभयो ।
गाईजात्रा विभिन्न स्थानमा आआफ्नै परम्परा अनुसार मनाइएको छ । प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाका दिन मनाइने यस पर्वलाई नेपाल भाषामा ‘सापारु’ भनिन्छ ।
डा. वज्राचार्यका अनुसार प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रसाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ ।
देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेको छ ।