नेपाल

फेवा किनारमा दसैं महोत्सव, विदेशीले लगाए टीका

लेखनाथ। पर्यटकीय नगरी पोखराले हरेक चाडपर्वलाई उत्सव एवम् महोत्सवका रुपमा मनाउँदैआएको छ । आइतबार दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमामा फेवाताल किनारमा महोत्व आयोजना गरिएको छ ।

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले आयोजना गरेको दसैं पर्यटन तथा सांस्कृतिक महोत्सवमा स्वदेशी र विदेशीलाई टीका, जमरा लगाई सामूहिक रुपमा उत्सव मनाइएको छ । समारोहमा उपस्थित दुई दर्जनभन्दा बढी विदेशी र सयौं स्वदेशीलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य लगायतले टीका, जमरासहित आशिस प्रदान गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख आचार्यले पोखरा सबै मौसमका लागि उपयुक्त पर्यटकीय गन्तव्य भएको उल्लेख गर्नुभयो । “न त यहाँ धेरै गर्मी हुन्छ, न त धेरै जाडो हुन्छ । मौसमका हिसाबले पोखरा संसारकै दुलर्भ ठाउँ हो” उहाँले भन्नुभयो, “यो सबै मौसमका लागि उपयुक्त छ ।”

नेपालीको अघिल्लो पुस्ताले कृषिलाई आधार बनाएर केही फुर्सदका बेला चाडपर्व मनाउने चलन बसाएको उल्लेख गर्दै उहाँले दसैं, तिहारजस्ता चाडपर्वले पारिवारिक पुनर्मिलन र आत्मीयता बढाउने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “चाडपर्वको आशीर्वाद, कामना, गतिविधिले नयाँ शक्ति दिन्छ, सकारात्मक सोच लिएर परिवारको सदस्यको पुनर्मिलन गराउँछ” उहाँले भन्नुभयो ।

पोखरा पर्यटन परिषद् अध्यक्ष हरि भुजेलले दसैं महोत्सवले पर्यटनमा नयाँ आयाम थपिएको दाबी गर्नुभयो । दसैं संस्कृतिलाई पर्यटनसँग जोड्ने प्रयास सकारात्मक भएको विचार राख्दै उहाँले पर्वहरुलाई पनि पर्यटको आकर्षणका रुपमा विकास गर्न सकिने बताउनुभयो ।

महोत्सवका सहभागी भइ टीका, जमरा ग्रहण गरेका विदेशीहरुले नेपाली संस्कृतिले आत्मीय अनुभव भएको बताएका थिए । क्यानडाबाट आउनुभएकी पर्यटक अन्नाले दसैंको टीका, जमरा र जमघटले छुट्टै अनुभूति भएको उल्लेख गर्नुभयो । आयरल्यान्डकी पर्यटक इराले तीन हप्ताको नेपाल बसाइँ यादगार भएको सुनाउनुभयो ।

“यो अवधिमा हामी पदयात्रामा गयौँ, आज दसैँ मनायौँ, नेपालको अमूल्य याद बोकेर जाँदै छौँ” उहाँले भन्नुभयो । महोत्सवकी कार्यक्रम संयोजक उमा रेग्मी भण्डारीले महोत्सवले नेपाली चाडपर्वलाई घरपरिवारमा मात्र सीमित नराखी विदेशी पर्यटकसँग समेत जोडेको बताउनुभयो । ओटेफकी अध्यक्ष ममता न्यौपानेले चमरेली, रोहटे र घुमाउने पिङलगायत गतिविधिमा दर्शकहरु रमाएको बताउनुभयो ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्