पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि
काठमाडौं। पेसएक्स स्पोट्र्स एकेडेमीको आयोजना भएको ५ ‘ए’ साइड महिला फुटसल प्रतियोगिताको उपाधि पेसएक्सले जितेको छ । ललितपुरको च्यासलस्थित आर स्क्वायर गेम स्टेसनमा सम्पन्न फाइनलमा पेसएक्सले स्टुडेन्ट एफसीलाई १–० गोलले पराजित गर्दै उपाधि हात पारेको हो ।
प्रतियोगितामा क्रिजल एफसीले तेस्रो स्थान हासिल गरेको छ। तेस्रो स्थानका लागि भएको खेलमा क्रिजल एफसीले नखिपोट एफसीलाई २–१ गोलले पराजित गर्यो।
उपाधिसँगै पेस एक्स स्पोर्टसले रु. ५५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता स्टुडेन्ट एफसीले रु. २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। यस्तै, तेस्रो स्थानमा रहेको कृजल एफसीले रु. १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगिताको फेयर प्ले टिम याक्थुङ एफसी बन्यो । याक्थुङ एफसी ले नगद रु. ३ हजार १०० सहित ट्रफि प्राप्त गर्यो।
व्यक्तिगत विधातर्फ पेस एक्स स्पोर्टसकी स्मृति भुजेल उत्कृष्ट गोलरक्षक घोषित भइन्। उनले रु. ३ हजार १०० नगदसहित ट्रफी प्राप्त गरिन्।
कृजल एफसीकी रेनुका हमाल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले पनि रु. ३ हजार १०० नगदसहित ट्रफी प्राप्त गरिन्।
विजेतालाई ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, पेसएक्स स्पोट्र्स एकेडेमीकी संस्थापक तथा अध्यक्ष संगीता कर्णलगायतले पुरस्कृत गरे । प्रतियोगितामा कुल १२ टोली सहभागी थिए ।