नेपाल

नेपाल र फेडरेटेड स्टेट्स अफ माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

न्युयोर्क । नेपाल र फेडरेटेड स्टेट्स अफ माइक्रोनेसियाबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकहरूको संख्या १८५ पुगेको छ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र संयुक्त राष्ट्रसंघका लागि फेडरेटेड स्टेट्स अफ माइक्रोनेसियाका स्थायी प्रतिनिधि जिम एस. लिप्वेले यससम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभयो।

सो अवसरमा, दुवै देश र जनताको पारस्परिक हितका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा—विशेष गरी संयुक्त राष्ट्रसंघमा—द्विपक्षीय सहयोग सुदृढ पार्ने तथा साझा चासोका विभिन्न विषयहरूमा दुवै राजदूतबीच विचार आदानप्रदान भयो।

माइक्रोनेसिया पश्चिमी प्रशान्त महासागरमा अवस्थित ६०० भन्दा बढी टापुहरू मिलेर बनेको एक टापु राष्ट्र हो। माइक्रोनेसियाले सन् १९८६ को नोभेम्बर ३ मा स्वतन्त्रता प्राप्त गरेको थियो भने सन् १९९१ को सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको थियो।

यसको कुल क्षेत्रफल ७०१ वर्ग किलोमिटर छ र जनसंख्या करिब १ लाख रहेको अनुमान गरिएको छ।

नेपाल र माइक्रोनेसिया दुवै ‘ग्रुप अफ ७७ एण्ड चाइना’का सदस्य हुन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्