देशका विभिन्न स्थानका मुख्य राजमार्ग अवरुद्ध
काठमाडौँ । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। मुख्य राजमार्ग अवरोधसम्बन्धी विवरणअनुसार बागमती र कर्णाली प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध तथा एकतर्फी सञ्चालन भइरहेको छ।
बागमती प्रदेशअन्तर्गत काभ्रेमा बीपी राजमार्गमा बाढीको सम्भावनालाई मध्यनजर गर्दै निश्चित समयका लागि सवारी आवागमनमा रोक लगाइएको छ। सूचनामा वैकल्पिक व्यवस्थासहित सवारी सञ्चालनका लागि समय निर्धारण गरिएको उल्लेख छ।
त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। उक्त अवरोध लामो समयसम्म रहन सक्ने जनाइएको छ। रसुवाकै मुख्य राजमार्गमा पनि अर्को सूचना नभएसम्मका लागि पूर्ण अवरोधको अवस्था उल्लेख गरिएको छ।
नुवाकोटमा टोखा–छहरे सडकखण्ड तथा पासाङल्हामु सडकखण्डमा बाढी तथा पहिरोका कारण आवागमन प्रभावित भएको छ। केही स्थानमा पूर्णरूपमा सडक अवरुद्ध रहेको विवरणमा उल्लेख छ।
यसैगरी, धादिङको बेनीघाट रोराङ गाउँपालिकाका विभिन्न स्थानमा पहिरोका कारण पृथ्वी राजमार्ग प्रभावित भएको छ। केही स्थानमा सडक पूर्णरूपमा अवरुद्ध भए पनि पछिल्लो विवरणमा केही खण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको जनाइएको छ।
चितवनमा समेत पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट–रोराङ क्षेत्र प्रभावित भएको छ। उता सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रमा अरनिको राजमार्ग पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ।
कर्णाली प्रदेशतर्फ कालिकोटको शुभकालिका गाउँपालिका–१ क्षेत्रमा कर्णाली राजमार्ग पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको विवरणमा उल्लेख छ।
सडक अवरोधका कारण यात्रामा निस्कने सर्वसाधारणलाई सम्बन्धित सडकखण्डको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा स्थानीय प्रशासन र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न आग्रह गरिएको छ।