राजनीति

सुनसरी र सिराहाको प्रदर्शनमा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शन क्रममा ज्यान गुमाएका चार मृतकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने पनि निर्णय गरेको प्रवक्ता पोखरेलले बताउनुभयो ।

मन्त्री पोखरेलले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्ति गर्ने र पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने लगायतका निर्णय भएको बताउनुभयो ।

यस्तै पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय (कन्सुलर अफिस) खोल्न सहमति दिने पनि आज बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

सो अवसरमा सरकारले गठन गरेका विभिन्न आयोग तथा समितिले बुझाएका प्रतिवेदनहरू सार्वजनिक र कार्यान्वयन भएनन् नि? भन्ने सञ्चारकर्मीका जिज्ञासाहरूमा शिक्षामन्त्री पोखरेलले सरकारलाई बुझाइएको कतिपय प्रतिवेदनहरू सार्वजनिक भएका र क्रमशः कार्यान्वयन हुने बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्