‘पुनः परीक्षणले वैधानिक तथ्यलाई थप फराकिलो ढङ्गले उजागर गर्न मद्धत पुग्छ’
काठमाडौँ। नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काङ्ग्रेस विवादबारे अदालतको पछिल्लो निर्णयले विशेष महाधिवेशनको ‘वैधानिक तथ्य र राजनीतिक सत्य’ लाई थप फराकिलो ढङ्गले उजागर गर्न मद्धत पुग्ने बताउनुभएको छ।
सर्वोच्च अदालतले विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिने यसअघिको आफ्नै आदेशलाई पुनरावलोकन गर्न अनुमति प्रदान गरेपछि उपसभापति शर्माले सो टिप्पणी गर्नुभएको हो।
“सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलासले रिट खारेज गरेर टुङ्ग्याइसकेको विषयमा पुनरावलोकनमा नगएको भए पनि लामो बहसपश्चात् न्यायिक निरूपण भइसकेकै थियो,” उहाँले भन्नुभयो, “यद्यपि पुनः परीक्षणले विशेष महाधिवेशनको वैधानिक तथ्य र राजनीतिक सत्यलाई थप फराकिलो ढङ्गले उजागर गर्न पक्कै मद्धत पुर्याउनेछ।”
उहाँले संयम र परिपक्वताका साथ नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनको सम्पूर्ण तथ्यलाई न्यायालयसमक्ष पुनः प्रस्तुत गर्न आफूहरू स्पष्ट, खुला र तत्पर रहेको पनि स्पष्ट पार्नुभएको छ ।