प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको छ।
प्रधानमन्त्री शाहलाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुहुनेछ।
प्रधानमन्त्री शाह बुधबार असोज ७ गते दोहाबाट न्युयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ। न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायत अधिकारीहरूले स्वागत गर्नुहुनेछ।
सोही दिन प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुगेर परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्युयोर्कस्थित नेपालका महावाणिज्यदूतबाट भ्रमणका विषयमा ब्रिफिङ लिनुहुनेछ। त्यसपछि उहाँको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा सहभागी हुनुहुनेछ।
असोज ८ गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ। त्यसलगत्तै उहाँले महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुने कार्यक्रम छ।
प्रधानमन्त्री शाह असोज ९ गते न्युयोर्कबाट दोहा प्रस्थान गर्नुहुनेछ। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत तथा बिदाइ गर्नुहुनेछ।
प्रधानमन्त्री शाह असोज १० गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ।