नेपाल

अख्तियारद्वारा नगर प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडौँ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवी केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७६/७७ मा सहकारी संस्था छनौट कार्यविधि विपरीत योग्यता नै नपुगेको आठबीसकोट दुग्ध सहकारी संस्था लिमिटेडलाई चिस्यान केन्द्र निर्माणको लागि अनुदान रकम उपलब्ध गराएको तथा उक्त संस्थाको लागि आठबीसकोट नगरपालिकाबाट गाडी खरिद गरी गराई भ्रष्टाचार गरेको आरोप लागेको छ ।

आयोगका अनुसार केसीविरुद्ध ८० लाख २३ हजार ५१ रुपियाँ, पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका तत्कालीन निमित्त कार्यालय प्रमुख सुवर्ण सिंह ठकुरी, सोही कार्यालयका पशु स्वास्थ्य अधिकृत तथा तत्कालीन निमित्त कार्यालय प्रमुख ज्ञानु कुमार शर्मा, पशु सेवा अधिकृत शेर बहादुर खड्का, लेखा अधिकृत यम बहादुर पुन, कृषि अधिकृत मिन बहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहविरुद्ध जनही ९१ लाख १७ हजार ८७३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

यसैगरी, आठबीसकोट दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष जनक बटाला, उपाध्यक्ष वीर बहादुर रोकाय, सचिव प्रकाश खड्का, कोषाध्यक्ष जुन कुमारी चनेलविरुद्ध जनही बिगो चिस्यान केन्द्र निर्माणतर्फको ९१ लाख १७ हजार ८७३ र गाडी खरिदतर्फको ८० लाख २३ हजार ५१ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा फरक–फरक बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिइ उनीहरुविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्