विदेश जाने नेपालीहरूका कागजात प्रमाणीकरण अनलाइनबाटै हुने
काठमाडौँ । परराष्ट्र मन्त्रालयले विभिन्न प्रयोजनमा विदेश जाने नेपालीहरूको कागजात प्रमाणीकरण गर्न कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणालीको सुरुवात गर्ने भएको छ ।
परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमार्फत प्रवाह भइरहेको कागजात प्रमाणीकरण सेवालाई भदौ १ गतेदेखि लागू हुने गरी अनलाइन सेवाका रुपमा सञ्चालन गर्ने तयारी गरिएको सिंहदरबारस्थित मन्त्रालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले अनलाइन प्रणालीको उद्घाटन गर्नुहुँदै बाह्य मुलुकमा जाने लाखौँ नेपाली नागरिकले व्यक्तिगत कागजातको प्रमाणीकरण गर्न धेरै टाढाबाट काठमाडौँ धाउनुपर्ने तथा आर्थिक बोझ बढ्ने जस्ता अप्ठ्यारालाई मध्यनजर गर्दै मन्त्रालयले सहज, प्रविधि र सेवाग्राहीमैत्री सेवाको सुरुवात गरेको बताउनुभयो ।
परराष्ट्र मन्त्री खनालले अनलाइन सेवा सञ्चालनपछि कतिपय स्थानीय सरकारबाट जारी हुने गरेका कागजातका ढाँचा, भाषा र विषयमा एकरुपता नहुँदा सेवाग्राहीले भोग्नुपरेका सास्तीको समस्या समाधान हुने बताउनुभयो ।
मन्त्री खनालले अध्ययन तथा रोजगारीको सिलसिलमा विदेश जान, विदेशमा रहेका नेपालीहरूको बसाई सहज बनाउन, पारिवारिक पुनर्मिलन, आपतकालिन अवस्थामा रहेका नेपालीहरूको खोजतलास, उद्धार, घाइते तथा मृत्यु हुनेहरूको क्षतिपूर्ति वा बिमा दाबी गर्ने कार्यका लागि प्रमाणित कागजात आवश्यक पर्ने भएकाले यस सेवाको महत्व र आवश्यकता बढेको पनि बताउनुभयो ।
पत्रकार सम्मेलनमा कागजात प्रमाणीकरण गर्न अनलाइनमार्फत नै व्यक्तिगत विवरण तथा कागजात राखेर शुल्क बुझाइ सेवाग्राही आफैले सहज पर्ने समय छनौट गरी प्रमाणित कागजात लिन सक्ने जानकारी गराएको छ ।
मन्त्रालयका अनुसार हरेक वर्ष नेपालका एक लाखभन्दा बढी विद्यार्थी विदेशी विश्वविद्यालयमा जाने र वार्षिक करिब ४ लाख नेपालीहरूले वैदेशिक रोजगारीका लागि अनुमति लिने गरेको छन् ।