मनोरंजन

प्रदीप कुमार वज्राचार्यको एकल चित्रकला ‘उत्सव: इन रिदम अफ जात्रा’ प्रदर्शनीमा

“एक सूक्ष्म तर जानेरै गरिएको निर्णय हो, जसले प्रदर्शनीलाई शीर्षकको लयमा लिएर जाने काम गरेको छ ।”

काठमाडौँ । काठमाडौँ सहरको जात्राका धुन र मादलको आवाजको झल्को दिने खालका चित्र यतिबेला दरबारमार्गस्थित ग्यालरी १०८ मा प्रदर्शनीमा राखिएका छन् । उक्त चित्र कलाकार प्रदीपकुमार वज्राचार्यको एकल चित्रकला ‘उत्सव : इन दी रिदम अफ जात्रा’ मा पाइन्छन् ।

काठमाडौँ उपत्यकाको रीतिरिवाज र उत्सवको परिवेशलाई वज्राचार्यले जात्रा र त्यसको मर्म र भावलाई कलामार्फत जीवन्त रूपमा प्रस्तुत गरेका छन्। उनले चित्रमार्फत धिमे बाजाको आवाज, भिडको गति, भक्तजनको श्रद्धा र सडकको ऊर्जालाई क्यानभासमा उतारेका छन् ।

प्रदर्शनीमार्फत नेपालको सांस्कृतिक सम्पदाको संरक्षणमा जोड दिइएको छ । यो प्रदर्शनीमा चाडपर्वको अभिलेख मात्र नभई, तिनको जीवन्त र प्रत्यक्ष अनुभव गर्न पाइने कलाकार वज्राचार्यले बताए ।

काठमाडौँ, पाटन, भक्तपुरमा मनाइने मत्स्येन्द्रनाथ जात्रा, भोटो जात्रा, सिन्दुरे जात्रा तथा अन्य प्राचीन जात्रा पर्वबाट प्रेरित उनको चित्रमा मानिसको भिडभाड भएका गल्ली, हल्लिँदै अघि बढ्ने खट, सिन्दूरले रङ्गिएका भक्तजन र सहरको धमिलो उज्यालोमा चम्किरहेका मन्दिरका रथ पाइन्छन् ।

प्रदर्शनीका चित्र कुनै वृत्तचित्र शैलीको चित्रकला नभई एक्रेलिक क्यानभासको माध्यमबाट अभिव्यक्त गरिएको एक जीवन्त अनुभूति भएको कलाकार वज्राचार्यले बताए । कला र संस्कृतिको जर्गेना गर्नु पर्छ भन्ने यस प्रदर्शनीको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।

उनका अनुसार अहिलेका नयाँ पुस्ताले पनि कला, संस्कृतिबारे बुझ्न जरुरी छ र यहाँ मनाइने उत्सवलाई अघि बढाउँदै लैजानु पर्छ । जात्रा युगौँयुगदेखि चलिरहेको छ र त्यसैलाई अझ प्रभावशाली बनाउने उद्देश्यले पनि प्रदर्शनीलाई ‘उत्सव’ भनिएको हो ।

प्रत्येक चित्र एउटै ढाँचामा प्रस्तुत गरिएको छ । एउटै ढाँचामा बनाउनुको कारण एकरूपता देखियोस् भन्ने नै हो । प्रदर्शनी अवलोकन गर्दा जात्रामा नै गएको जस्तो महसुस होस् भन्ने पनि हो । वज्राचार्य भन्छन, “एक सूक्ष्म तर जानेरै गरिएको निर्णय हो, जसले प्रदर्शनीलाई शीर्षकको लयमा लिएर जाने काम गरेको छ ।” उक्त कला प्रदर्शनी भदौ ७ गतेसम्म चल्ने छ भने ९० वटा चित्र प्रदर्शनीमा सजिएका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्