भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि एआरआई, मित्रश्री र ब्रम्हकुञ्जलाई
काठमाडौं । एलआरआई, मित्रश्री पाठशाला र ब्रम्हकुञ्जले पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । एलआरआई यु–१६ ब्वाइज, मित्रश्री पाठशाला यु–१२ ब्वाइज र ब्रम्हकुञ्ज यु–१६ गल्र्समा च्याम्पियन बने ।
बूढानीलकण्ठ नगरपालिकाको भंगालस्थित आयोजक भ्याली पब्लिकमा भएको सिनियर ब्वाइज फाइनलमा एलआरआईले निम्सलाई टाइब्रेकरमा २–० गोलले पराजित गर्यो । आशुतोष महोतरा र अबुदय पौडेलले पेनाल्टी अवसरलाई सदुपयोग गरे । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।
यु–१२ ब्वाइजको फाइनलमा मित्रश्रीले नेसनल ब्लुमिङ फ्लावर एकेडेमी (एनबीएफए) लाई २–१ गोलले हरायो । मित्रश्रीका रिसब पहाडी र आक्रिस खत्रीले समान १–१ गोल गरे । मित्रश्रीका सुप्रभ श्रेष्ठले १ गोल फर्काए ।
यु–१६ गल्र्सको उपाधि भिडन्तमा ब्रम्हकुञ्जले कौस्तुभ एकेडेमीलाई १–० गोलले पाखा लगायो । दीक्षा कँडेलले निर्णायक गोल गरिन् । तीनै समूहका विजेताले १५ हजार तथा उपविजेताले १० हजारका दरले नगद पुरस्कार पाए ।
यु–१६ ब्वाइजमा एलआरआईका आशुतोष महोतरा उत्कृष्ट खेलाडी, एलआरआईका दिक्षान्त शर्मा उत्कृष्ट गोलरक्षक र रिब्सका रिसन लामा (८ गोल) सर्वाधिक गोलकर्ता भए ।
यु–१२ ब्वाइजमा एनबीएफएका सुप्रभ श्रेष्ठ उत्कृष्ट खेलाडी, मित्रश्रीका कृष श्रेष्ठ उत्कृष्ट गोलरक्षक र रिब्सका आक्रिस खत्री (९ गोल) सर्वाधिक गोलकर्ता बने ।
यु–१६ गल्र्समामा ब्रम्हकुञ्जकी दीक्षा कँडेल उत्कृष्ट खेलाडी, ब्रम्हकुञ्जकै वेहेलिङ राई उत्कृष्ट गोलरक्षक र प्याराडाइस रिडर्स एकेडेमीकी आराध्या श्रेष्ठ (७ गोल) सर्वाधिक गोलकर्ता बने ।
विजेतालाई भ्याली पब्लिकका संस्थापक एवं प्रिन्सिपल कृष्णप्रसाद अधिकारी, सह–संस्थापक सुनिता विष्ट अधिकारी, प्रशासन प्रमुख महेश अधिकारी र भाइस प्रिन्सिपल सुशिल वाग्लेले एक कार्यक्रमबीच पुरस्कृत गरे । साताव्यापी प्रतियोगिताको यु–१६ ब्वाइजमा २६ तथा यु–१२ ब्वाइज र यु–१६ गल्र्समा समान १६–१६ टिम सहभागी थिए ।