जुनियर क्रिकेट लिग आइतबारदेखि
काठमाडौं । एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा जुनियर क्रिकेट लिग (जेसीएल)– सिजन २ आइतबारदेखि हुने भएको छ ।
प्रतियोगितामा २४ टिमको सहभागिता रहने आयोजक एन्जल्स हार्टका प्रधानाध्यापक टकबहादुर थापाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको व्यवस्थापन तथा नेपाल प्रिमियर लिग (एनपीएल) टिम काठमाडौं गुर्खाजको सहयोगमा हुन लागेको प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने आयोजक एन्जल्स हार्टका खेलकुद विभाग प्रमुख सुमन तिमिल्सिनाले जानकारी दिए ।
सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटस्म्यान, उत्कृष्ट बलर, उदीयमान खेलाडी र अनुशासित टिमलाई पनि पुरस्कृत गरिने छ ।
सोही अवसरमा नेपाल ओलम्पिक कमिटीका सचिव रामकृष्ण श्रेष्ठ, राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्व सदस्य शरद भेषावकर र एन्जल्स हार्टका अध्यक्ष लिलबहादुर पुनले सहभागी हुने टोलीका कप्तानको उपस्थितिमा ट्रफी पनि सार्वजनिक गरेका थिए ।
प्रिन्सिपल थापाले जुनियर क्रिकेट लिग केवल एउटा प्रतियोगिता मात्र नभइ विद्यालयस्तरबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने सशत्त माध्यम भएको बताए । उनले प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख १० हजार रुपैयाँ खर्च हुने बताए ।
सो अवसरमा एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरका अध्यक्ष खिम थापा, प्राविधिक प्रमुख रविन्द्र गुप्तालगायतको उपस्थिति रहेको थियो । साउन २८ गतेसम्म चल्ने टी–१० इन्डोर क्रिकेटका खेलहरु मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा खेलाइने छ ।