नेपाल

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

म्याग्दी । वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय, म्याग्दीले आग्रह गरेको छ ।

मुस्ताङ तर्फबाट लेदोसहितको बाढी मिसिएर नदीको बहाव बढिरहेको जनाउँदै प्रहरीले नदी किनार तथा जोखिमयुक्त ठाउँमा नजान र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई अनुरोध गरेको हो ।

तटीय क्षेत्रमा आउनसक्ने सम्भावित जोखिमलाई दृष्टिगत गरी सतर्क रहन सूचित गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताउनुभयो । “माथिबाट लेदोसहितको बाढी आएको जानकारी प्राप्त भएको छ । कालीगण्डकी नदीको आसपासमा रहनुहुने बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो ।

पहिरोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक अझै खुलाउन नसकिएको उहाँले बताउनुभयो । रघुगङ्गा गाउँपालिका–२ बैसेरीमा आज दिउँसो पहिरो जाँदा कालीगण्डकी करिडोरअन्तर्गतको उक्त सडकखण्डमा यातायात सेवा बन्द छ । वर्षा भइरहेको र निरन्तर पहिरो खसिरहेकाले सडक सञ्चालन गर्न नसकिएको प्रहरीले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्