राजनीति

नेपाली कांग्रेसद्वारा हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन गर्न माग

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ ।

संसदीय दलको आज बसेको बैठकले ती घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै घटनामा मृत्यु भएका र थुप्रै व्यक्ति घाइते भएकाप्रति दुःख व्यक्त गरेको छ । बैठकपछि कांग्रेस प्रमुख सचेतक बासना थापाले भनेकी छन्, ‘घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गर्दछौँ । भविष्यमा यस्ता हिंसात्मक घटना दोहोरिन नदिन सबै पक्षलाई हार्दिक अपिल गर्दछौँ ।’

बैठकले सदियौँदेखि एकअर्काको धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै आपसी भाइचारा, बन्धुत्व र सामाजिक सद्भाव कायम रहँदै आएको अवस्थामा सामाजिक विद्वेष फैलाउने घटना हुनु दुःखद भएको जनाएको छ । कांग्रेसले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारसँग आग्रह गर्दै भविष्यमा यस्ता हिंसात्मक घटना दोहोरिन नदिन सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र संयमता कायम राख्न सबै पक्षलाई अपिल गरेको छ ।

बैठकले नागरिक, सांसद र संसद्बीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको ‘कांग्रेस संसदीय दल सांसद समन्वयसम्बन्धी कार्यादेश’ पारित गरेको प्रमुख सचेतक थापाले बताइन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्